काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफू रातभर पनि देशका लागि समर्पित भएर काम गर्ने मान्छे रहेको दाबी गरेका छन् ।
आइतबार एमाले निकट प्रेस चौतारीले गरेको सम्पादकहरुसँगको संवाद कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । उनले आफूमा मदिराको कुनै लत नभएका कारण राति समेत देशकै लागि चिन्तन गर्ने गरेको जिकिर गरे । साथै
‘बेलुका भएपछि जाँड खाएर इन्ज्योय गरेर बस्ने आदत नभएको, रातभरी पनि देशकै लागि काम गर्न आफूलाई समर्पित गर्ने मान्छे म,’ ओलीले भने ।
त्यस्तै उनले आफूलाई प्रधानमन्त्री बन्ने कुनै इच्छा नभएको भन्दै आफू प्रधानमन्त्री नबनोस् भन्नेहरुको इच्छा पूरा हुने टिप्पणी गरे ।
उपस्थित सम्पादक एवं पत्रकारहरुले अन्य दलका शीर्ष नेताहरुले पद छाड्ने तयारी गरे पनि ओलीले आफैँ पदमा बहाल बस्न खोजेको भन्दै प्रश्न समेत उठाएका थिए । तर ओलीले भने आफू सम्पादकहरुले भनेर नभइ जनता र भोटर्सहरुले भनेमा पदमा रहन सक्ने दाबी गरे ।
‘फेरि प्रधानमन्त्री बनेको हेर्न मन नलाग्ने मान्छेले त्यो इच्छा पूरा गरे हुन्छ, त्यसमा मेरो केही आपत्ति छैन । मलाई प्रधानमन्त्री हुनै छैन । यदी पुनः जनताले भने भने, सम्पादकले भनेको मान्ने कि, भोटर्संले भनेको मान्ने भन्दा मैले भोटर्सले भनेको मान्नुपर्ने हुन्छ,’ ओलीले भने ।
यता वर्तमान प्रधानमन्त्री सुशीला कार्कीलाई ओलीले नै सिफारिस गरेको चर्चा चलिरहेको छ । राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा समेत सोही व्यहोरा उल्लेख छ । तर ओलीले भने आफूले व्यक्ति तोकेर नभइ संवैधानिक बाटोबाट र संसदलाई बचाएर प्रधानमन्त्री नियुक्त गर्न भनेको समेत दाबी गरे ।
उनले आफूमाथि सुरक्षा चुनौती रहेको भए पनि सरकारले सुरक्षाकर्मी कटौती गरेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया