अमेरिका । राष्ट्रपति डोनाल्ड ट्रम्पको कठोर नीति र अधिनायकवादी व्यवहारविरुद्ध शनिबार अमेरिका भर ‘नो किङ्ग्स’ नामक विशाल प्रदर्शन गरिएको छ ।
सबै ५० अमेरिकी राज्यका सहर–सहरमा आयोजित यस प्रदर्शनमा लाखौँ नागरिक लोकतन्त्रको पक्षमा र ट्रम्प प्रशासनको नीतिविरुद्ध सडकमा उत्रिएका थिए । आयोजकका अनुसार न्युयोर्कदेखि लस एन्जलससम्म फैलिएको यो आन्दोलनमा करिब ७० लाखभन्दा बढी नागरिकले सहभागिता जनाएका थिए ।
फ्लोरिडास्थित ट्रम्पको निवास नजिकदेखि अमेरिकी हार्टल्यान्डका साना सहरहरूमा समेत विरोध प्रदर्शन भएका थिए । वासिङ्टनस्थित अमेरिकी क्यापिटल नजिक हजारौँले ‘लोकतन्त्र यस्तो देखिन्छ १’ भन्ने नारा लगाउँदै सरकारको लामो ‘शटडाउन’ विरुद्ध पनि आक्रोश प्रकट गरे । प्रदर्शनकारीहरूले ‘लोकतन्त्रको रक्षा गरौँ’ भन्ने सन्देशसहितका पोस्टर बोकेका थिए भने कतिपयले आप्रवासीमाथि दमन गर्ने अध्यागमन तथा भन्सार प्रवर्तन निकायको अन्त्यको माग गरे ।
न्युयोर्ककी ६९ वर्षीया कोलिन हफम्यानले आँसु झर्दै भनिन्, ‘लोकतान्त्रिक देशको मृत्यु आफ्नै आँखाबाट देख्नुपर्ने दिन आउँछ भन्ने मैले कहिल्यै सोचिनँ । अहिले हामी सङ्कटमा छौँ यो शासनको अधिनायकवादले हामीलाई घुँडा टेकाउन खोजिरहेको छ ।’
लस एन्जलसमा प्रदर्शनकारीहरूले डाइपर लगाएको ट्रम्पको विशाल बेलुन आकाशमा उडाए । ह्युस्टनमा ‘अज्ञानताविरुद्ध लडौँ, आप्रवासीविरुद्ध होइनौँ’ भन्ने सन्देशले ध्यान खिचेको थियो । केही स्थानमा प्रहरीसँग झडप हुँदा लस एन्जलस प्रहरीले गैर घातक गोली र अश्रुग्याँस प्रयोग गरेको बताइएको छ ।
न्युयोर्कमा करिब एक लाख र वासिङ्टनमा आठदेखि दस हजारसम्म प्रदर्शनकारीको भीड रहेको अनुमान गरिएको छ । यद्यपि, आयोजकका तथ्याङ्क स्वतन्त्र रूपमा पुष्टि हुन सकेका छैनन् ।
राष्ट्रपति ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममार्फत प्रतिक्रिया दिँदै आफूलाई राजाको रूपमा चित्रण गर्ने एआई–निर्मित भिडियोहरू सार्वजनिक गरे, जसमा उनलाई मुकुट लगाएर लडाकू जेट उडाउन र विरोधीहरूलाई अपमानित गर्नेदेखि नायकका रूपमा प्रस्तुत गरिएको छ ।
उनका सहयोगीहरूले प्रदर्शनलाई ‘घृणा अमेरिका र्याली’ भन्दै व्यङ्ग्य गरे भने सदनका अध्यक्ष माइक जोनसनले प्रदर्शनकारीहरूलाई ‘मार्क्सवादी, समाजवादी र हमास समर्थक वामपन्थीहरू’ को मिश्रण भएको बताए ।
तर प्रदर्शनकारीहरूले ती आरोपलाई हाँस्यात्मक रूपमा अस्वीकार गरे । वासिङ्टनकी ६३ वर्षीया पाओलोले भनिन्, ‘यदि यो घृणा हो भने ती आलोचकहरूले फेरि विद्यालय फर्किनुपर्छ ।’ अर्का ३४ वर्षीय सफ्टवेयर इन्जिनियर टोनीले भने, ‘हामीमाथि दक्षिणपन्थीहरूले घृणा गर्छन्, तर हामी सत्य र न्यायको पक्षमा अडिएका छौँ ।’
अमेरिकन सिभिल लिबर्टिज युनियनकी डेरड्रे सिफेलिङका अनुसार प्रदर्शनको मुख्य सन्देश थियो “हाम्रो समानता र कानुनको देश हो, हामी चुप लाग्ने छैनौँ ।’
‘इन्डिभिजिबल प्रोजेक्ट’का सह–संस्थापक लेह ग्रिनबर्गले ट्रम्प प्रशासनले डेमोक्रेटिक सहरहरू लस एन्जलस, वासिङ्टन, शिकागो, पोर्टल्यान्ड र मेम्फिसमा नेसनल गार्ड पठाउने प्रयासको कडा आलोचना गर्दै भने, ‘यो धम्की, भ्रम र डरद्वारा नागरिकलाई मौन पार्ने अधिनायकवादी रणनीति हो ।’
अमेरिकी क्यापिटल अगाडि बोल्दै सिनेटर बर्नी स्यान्डर्सले ट्रम्प शासनले लोकतन्त्रमा गम्भीर खतरा उत्पन्न गरिरहेको चेतावनी दिए । उनले भने, ‘हामीसँग यस्तो राष्ट्रपति छन्, जसले सबै शक्ति आफ्ना हातमा केन्द्रित गर्न खोजिरहेका छन् ।’
१६ वर्षीय विद्यार्थी आई ज्याक हार्डरले भने, ‘हाम्रो पुस्ताको भविष्य अन्धकारमय देखिन्छ । यो फासिस्ट बाटो हो र यसलाई रोक्नका लागि म आफ्नो हिस्साको योगदान गर्न चाहन्छु ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया