जेनजी आन्दोलनको क्रममा लुटिएका हतियार फिर्ता गर्न गृहले विशेष अपरेशन चलाउने

लोकपथ
203
Shares

काठमाडौं । जेनजी पुस्ताको आन्दोलनका क्रममा लुटिएका हातहतियार फिर्ता ल्याउन गृह मन्त्रालयले विशेष अपरेसन सञ्चालन गर्ने भएको छ ।

आइतबार सिंहदरबारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले उक्त जानकारी दिएका हुन् ।

गृहमन्त्री अर्यालका अनुसार बैठकमा निर्वाचनको तयारीसम्बन्धी रणनीतिक योजनाबारे समेत समीक्षा गरिएको छ । उनले भने, ‘हामीले यसअघिको बैठकमा निर्वाचन तयारीका लागि कार्यदल गठन गरेका थियौँ । आजको बैठकमा उसले प्रस्तुत गरेको प्रतिवेदनको समीक्षा गर्‍यौँ र त्यसअनुरूप कार्यान्वयनका लागि मातहतका निकायहरूलाई निर्देशन दिने निर्णय गरेका छौँ ।’

उनले प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुलाई निर्वाचन तयारी र वातावरण निर्माणको मुख्य जिम्मेवारी दिने निर्णय गरिएको बताए ।

अर्यालले आन्दोलनको क्रममा जेलबाट भागेका कैदीबन्दीहरुलाई कारागार फिर्ता ल्याउन सुरक्षा निकायलाई थप सक्रिय बनाइने जानकारी दिए । ‘जेनजी आन्दोलनको क्रममा लुटिएका हतियार फिर्ता ल्याउन विशेष कार्यक्रम सञ्चालन हुनेछ,‘उनले भने, ‘त्यससँगै कारागारबाट भागेका कैदीहरूलाई फिर्ता ल्याउन पनि थप कार्यक्रम अघि बढाइनेछ ।’

उनका अनुसार निर्वाचनको वातावरण बनाउन शान्ति–सुरक्षाको प्रत्याभूति दिलाउन सुरक्षानिकायहरूलाई संयुक्त गस्ती (जोइन्ट पेट्रोलिङ) मा परिचालन गरिनेछ ।

गृहमन्त्री अर्यालले राजनीतिक दलहरूलाई निर्वाचनका क्रममा समाजमा रहेका आपराधिक समूह र व्यक्तिहरूलाई दुरुपयोग नगर्ने प्रतिबद्धता जनाउन पनि आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?