कांग्रेसका विशेष महाधिवेशन पक्षधरको जिकिर : ‘वर्तमान केन्द्रीय कार्यसमिति आफ्नो म्याद थप गर्न उद्धत छ’

लोकपथ
140
Shares
फाइल तस्बिर

काठमाडौं । विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले वर्तमान केन्द्रीय कार्यसमिति आफ्नो म्याद थप गर्न लागिपरेको जनाएको छ । 

नेता गुरुराज घिमिरेलगायत विशेष महाधिवेशन माग गरेका पक्षधरहरूले आज आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी वर्तमान कार्यसमितिको मनसाय    नै समयमा नियमित महाधिवेशन नगर्ने र केन्द्रीय कार्यसमितिको म्याद थप्नतर्फ उद्धत रहेको प्रस्ट भएको पाइएको जनाएको छ । उनीहरूले वर्तमान केन्द्रीय कार्यसमितिको यस्तो प्रवृत्ति आपत्तिजनक भएको पनि बताएका छन् । उनीहरूले विशेष महाधिवेशनको माग गर्दै पार्टी विधानको धारा १७(२) बमोजिम केन्द्रीय कार्यालयमा दर्ता गरिएको निवेदनलाई लिएर जारी केन्द्रीय समितिको बैठकलाई सुक्ष्मरुपमा नियालिरहेका पनि बताएका छन् ।

‘राष्ट्रिय राजनीति अत्यन्त तीव्रताका साथ अगाडि बढिरहेको बेला विलम्ब गर्ने, अलमलिने र पार्टीको नयाँ नेतृत्व चयन गर्न ढिलाइ गर्ने छुट हामीलाई छैन । असोज २८ बाट प्रारम्भ भएको केन्द्रीय कार्यसमितिको बैठक बिनाकारण लम्ब्याउने, ढिला गर्ने र आगामी बैठक छठपछि अर्थात् कात्तिक १३ पछि मात्र डाकिएको र कहिले सकिनेसमेत टुंगो नभएकाले  वर्तमान कार्यसमितिको मनसाय    नै समयमा नियमित महाधिवेशन नगर्ने र केन्द्रीय कार्यसमितिको म्याद थप्नतर्फ उद्धत रहेको प्रस्ट देखिन्छ । वर्तमान केन्द्रीय कार्यसमितिको यस्तो प्रवृत्ति आपत्तिजनक छ,’ नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकलाई हाम्रो ध्यानाकर्षण भन्दै उनीहरूले भनेका छन् । 

नेता घिमिरेसहितको अगुवाइमा १४ औँ महाधिवेशनका प्रतिनिधिहरूले कांग्रेस विशेष महाधिवेशन माग गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई असोज २९ गते २ हजार ४ सय ८८ जनाको हस्ताक्षर बुझाएका थिए । यद्यपि, कांग्रेस संस्थापन पक्षले विशेष महाधिवेशन बोलाउन चाहिरहेको छैन । मंसिरभित्र नियमित १५ औँ महाधिवेशनसमेत बोलाउन नसकिने भनेर संस्थापन पक्षका नेताहरूले भनिराखेको अवस्था छ ।

पत्रकार सम्मेलनमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकलाई हाम्रो ध्यानाकर्षण भन्दै ६ वटा बुँदा पनि अघि सारिएको छ । 

६ वटा बुँदाको पृष्ठभूमिमा भनिएको छ, ‘यतिबेला हामी नेपालको राजनीतिक इतिहासको गम्भीर, संवेदनशील र महत्वपूर्ण मोडमा छौँ । गत भदौ २३ र २४ गतेपश्चात् नेपालको राजनीति नयाँ र विशिष्ट चरणमा प्रवेश गरेको छ । जेनजी आन्दोलन मार्फत नेपाली समाजको वस्तुस्थिति, मनोभावना र चाहना एकमुष्ट रूपमा मुखरित भएको छ । यस दौरान नयाँ पुस्ताले देखाएको उत्साह, प्रदर्शन गरेको अग्रसरता र न्यौच्छावर गरेको बलिदानले नेपाली समाजलाई युगौँसम्म प्रोत्साहित, रोमाञ्चित, उद्वेलित र मार्ग निर्देशित गरिरहने छ भन्ने हामीलाई लागेको छ । साथै यस दौरान भएका तोडफोड, आक्रमण र आगजनी जस्ता उग्र क्रियाकलापहरू निन्दनीय छन्, जसले हामी सबै नेपालीहरूलाई सदा बिझाइ रहनेछ । यतिखेर सबै सचेत नेपालीहरूको एउटै चासो र चिन्ता छ । अब नेपाली राजनीति कसरी अघि बढ्ला ? फागुन २१ गतेका लागि घोषित प्रतिनिधि सभा निर्वाचन होला कि नहोला ? राजनीतिक दलहरूभित्रको उकुसमुकुसले कस्तो निकास पाउला ?’

नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठकलाई हाम्रो ध्यानाकर्षण – 

१) पार्टी विद्धानको धारा १७(२) बमोजिम विशेष महाधिवेशनको माग गर्ने सार्वभौम अधिकार महाधिवेशन प्रतिनिधिहरूमा निहित रहेकोले कुनै पनि कारण देखाएर यसको अवमूल्यन गर्ने वा टार्ने, छल्ने छुट कसैलाई पनि छैन ।

२) पार्टीको १४ औँ महाधिवेशनबाट निर्वाचित भएको केन्द्रीय कार्यसमितिको असफलताको मानक स्वरूप नेपाली राजनीतिमा धेरै घटना/दुर्घटनाहरू भएको पृष्ठभूमि हाम्रो सामु छ । तसर्थ यस कार्यसमितिले आफ्नो म्याद थपेर पार्टीलाई नेतृत्व गर्ने नैतिक धरातल गुमाइसकेको छ ।

३) आगामी फागुन २१ गते नेपाल सरकारबाट घोषित प्रतिनिधि सभाको निर्वाचन अगावै पार्टी महाधिवेशन मार्फत नयाँ नेतृत्व चयन गरी आगामी चुनावमा जानुपर्ने राष्ट्रिय आवश्यकता महसुस गरी विशेष महाधिवेशनको माग गरिएको हो । यसभन्दा उत्तम हामीसँग अर्को विकल्प छैन । तसर्थ यस मागप्रति गम्भीर रहन र कार्यान्वयनतर्फ अग्रसर रहनु अनिवार्य आवश्यकता रहेको ब्यहोरा पुनः स्मरण गराउन चाहन्छौँ ।

४) विगत तीनवटा निर्वाचनमा नेपाली कांग्रेस पार्टीले महाधिवेशन अर्थात् पार्टीभित्र  नयाँ जनादेश  लिएर नवनिर्वाचित केन्द्रीय कार्यसमितिले नै निर्वाचन हाँकेको इतिहास छ । त्यही भएर अहिले पनि आगामी मंसिरभित्र विधिवत् महाधिवेशन गरी नयाँ कार्यसमितिको चयन आजको अपरिहार्यता हो ।

५.राष्ट्रिय राजनीति अत्यन्त तीव्रताका साथ अगाडि बढिरहेको बेला विलम्ब गर्ने, अलमलिने र पार्टीको नयाँ नेतृत्व चयन गर्न ढिलाइ गर्ने छुट हामीलाई छैन । असोज २८ बाट प्रारम्भ भएको केन्द्रीय कार्यसमितिको बैठक बिनाकारण लम्ब्याउने, ढिला गर्ने र आगामी बैठक छठपछि अर्थात् कात्तिक १३ पछि मात्र डाकिएको र कहिले सकिनेसमेत टुंगो नभएकाले  वर्तमान कार्यसमितिको मनसाय    नै समयमा नियमित महाधिवेशन नगर्ने र केन्द्रीय कार्यसमितिको म्याद थप्नतर्फ उद्धत रहेको प्रस्ट देखिन्छ । वर्तमान केन्द्रीय कार्यसमितिको यस्तो प्रवृत्ति आपत्तिजनक छ ।

६ केन्द्रीय कार्यसमितिको जारी बैठकमा पार्टी विधानको मूल भावना, मर्म र क्षेत्राधिकारविपरीत केही सदस्यहरूले आफ्ना धारणा राख्नु आपत्तिजनक छ । केन्द्रीय सदस्यहरूका यस्ता अभिव्यक्तिले केन्द्रीय कार्य समिति पार्टीको मूल जिम्मेदारीबाट भाग्न खोजेको र बरालिएको महसुस गरेका छौँ । अतः विशेष महाधिवेशनको मागलाई वैधानिक, समयसापेक्ष र स्वाभाविक आवश्यकताको रूपमा ग्रहण गरी कार्यान्वयन तर्फ अघि बढ्न आग्रह गर्दछौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?