काठमाडौं । श्रीलंका सरकारले त्यहाँको गाडी आयातकर्ता कम्पनीलाई ७ अर्ब श्रीलंकाली रुपैयाँ जरिवानाको तयारी गरेको छ । श्रीलंकामा बीवाईडी गाडीको आयातकर्ता जोन किल्स सिजी अटो प्रालिलाई करिब ७ अर्ब श्रीलंकाली रकम जरिवानाको तयारी गरिएको हो ।
श्रीलंकामा बीवाईडी इलेक्ट्रिक गाडीहरू आयात गर्दा गाडीको इञ्जिन क्षमतालाई जानीजानी कम देखाएर थोरै कर तिरेको आरोप लगाइएको छ । बीवाईडीको १५० किलोवाटसम्मको कारलाई १०० किलोवाट वा सो भन्दा पनि कम देखाएर अर्बौँ रुपैयाँको कर छली गरिएको आरोप लागेको छ । कर छलीको यो प्रकरणमा नेपाली खर्बपति विनोद चौधरी पनि मुछिएका छन् ।
श्रीलंकामा यो विषयले विवाद बढाउँदै लैजाँदा यतिबेला यो अदालतसम्म पुगेको छ । श्रीलंकाको अदालतमा पुगेको यो मुद्दामा नेपालमा समेत खर्बपति चौधरीले कर छली गरेको आरोप लागेको छ ।
काठमाडौंदेखि कोलम्बोसम्म कर छलीको आरोप
जोन किल्स सिजी अटो प्रालि र यसको नेपाली साझेदार सिजी मोटर्सबाट आयात गरिएका बीवाईडी इलेक्ट्रिक गाडीहरूको मोटर क्षमतालाई कम देखाएर थोरै मात्रै कर तिरेर कर छली गरेको आरोप लागेको हो । यो कर छलीमा नेपाली व्यवसायी विनोद चौधरीकै योजना रहेको आरोप श्रीलंकामा लगाइएको छ ।
खासमा श्रीलंकामा बीवाईडीको आयातकर्ता रहेको जोन किल्स सिजी अटो प्रालिमा नेपाली खर्बपति विनोद चौधरीको समेत लगानी रहेको छ । उनकै लगानी रहेको जोन किल्स सिजी अटोले श्रीलंकामा बीवाईडी गाडीका आयात र विक्री वितरण गर्ने गरेको छ । तर नेपालमा भने बीवाईडीको आधिकारिक विक्रेताका रूपमा साइमेक्स इंक रहेको छ ।

श्रीलंकामा भएको विवाद पनि नेपालमा भएको विवाद जस्तै हो । श्रीलंकामा १५० किलोवाट मोटर क्षमताको बीवाईडीको कारलाई १०० किलोवाटको म्यानुअल बनाएर आयात गरिएको आरोप लागेको छ । नेपालमा जस्तै श्रीलंकामा पनि एक सय किलोवाटसम्मको कारमा लाग्ने भन्सार दर र एक सय किलोवाटभन्दा बढी रहेको मोटरमा लाग्ने भन्सार दरमा धेरै फरक छ ।
श्रीलंकामा १०० किलोवाट भन्दा कम क्षमताको सवारीसाधनको भन्सार महसुल करिब २४ लाख श्रीलंकाली रुपैयाँ पर्छ भने १ सय किलोवाट भन्दा माथिको भन्सार महसुल करिब ५४ लाख श्रीलंकाली रुपैयाँ पर्छ । यी दुई क्षमताका सवारीसाधनको करमा एउटै गाडीमा ३० लाख श्रीलंकाली रुपैयाँ अर्थात् नेपाली रकम १३ लाख ९६ हजार रुपैयाँको फरक पर्छ । यही फरकको कर छली गर्न मोटरको वास्तविक क्षमता लुकाएर फरक पारिएको आरोप लागेको छ ।
श्रीलंकाको नियामक निकायले कारभित्र रहेका सामानहरूको परीक्षण गर्दा त्यसको फार्मवेयरमा १५० किलोवाटमा प्रयोग हुने सामाग्रीहरू प्रयोग भएको पाइएको र ती गाडीहरूको क्षमता पनि १५० किलोवाट रहेको भन्दै अदालतमा मुद्दा दायर गरिएको छ ।

श्रीलंकाको भन्सार विभागले भन्सारमा आइपुगेका करिब २ हजार थान बीवाईडीका कारहरू होल्ड गरेर राखेको थियो । तर केही समय पहिले मात्रै ४ अर्ब ५० करोड श्रीलंकाली रुपैयाँ बैंक ग्यारेन्टी राखेर करिब एक हजार पाँच वटा कार भन्सारबाट निकालेर बजारमा लगिएको छ । यद्यपि ती कारहरूको विक्रीमा समेत तत्कालका लागि रोक लगाइएको बुझिएको छ ।
यतिबेला यो विषय अदालतसम्म पुगेपछि श्रीलंकाको अदालतले यसको वास्तविक क्षमता पहिचान गर्नका लागि विशेषज्ञ समिति गठन गरेको छ । श्रीलंकाको भन्सार विभागले मोटरको वास्तविक आउटपुट प्रमाणित गर्न प्राविधिक विशेषज्ञ समिति गठन गरी काम सुरु गरिसकेको भएपनि यसले अझैसम्म पनि अदालतमा प्रतिवेदन बुझाइसकेको भने छैन ।
क्षमता घटाउँदा कति फरक पर्छ ?
श्रीलंकामा १०० किलोवाट र १५० किलोवाट गाडीबिचको कर भिन्नता लगभग प्रतिगाडी ३० लाख श्रीलंकाली रुपैयाँ (एलकेआर) रहेको छ, जसको नेपाली रुपैयाँ १३ लाख ९५ हजार ९ सय ६० रुपैयाँ रहेको छ । यदि १ हजार गाडीमा मात्रै गलत क्षमता देखाएर भित्राइएको भए श्रींलंका सरकारलाई ३ अर्ब श्रीलंकाली रुपैयाँ अर्थात् नेपाली रकम करिब १ अर्ब ४० करोड रुपैयाँ नोक्सान हुन्छ ।

श्रीलंकामा प्रकाशित समाचारहरूका अनुसार बीवाईडीले श्रीलंकामा मात्रै २ हजार ५ सयभन्दा बढी बीवाईडी अटो ३ मोडेलहरू पहिले नै आयात गरिएको र त्यसमध्ये अधिकांश बिक्रीसमेत भएको छ । यदि बीवाईडीको अटो थ्रीमा मात्रै पनि क्षमतामा छेडखानी गरिएको भए ७ अर्ब ५० करोड श्रीलंकाली रुपैयाँ अर्थात् ३ अर्ब ५२ करोड १२ लाख ५० हजार नेपाली रुपैयाँ भन्दा बढीको कर छली हुन्छ । श्रीलंकामा अहिले यो समूहले ७ अर्ब रुपैयाँभन्दा बढी कर छली गरेको आरोप लागेको छ भने मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेको छ ।
यद्यपि यस विषयमा बीवाईडीले भने आपत्ति जनाउँदै श्रीलंकामा आयात भएको गाडीको क्षमता १ सय किलोवाट भन्दा कम नै रहेको दाबी गरेको छ । बीवाईडीले सिंगापुर, नेपाल र श्रीलंकामा उपलब्ध गराइएको कारको क्षमता एक सय किलोवाटको मात्रै रहेको दाबी गरेको छ भने थाइल्यान्ड र जापानमा भने सोही मोडेलको कारमा पनि एक सय ५० किलोवाट क्षमताको मोटर प्रयोग गरिएको जनाएको छ ।
चौधरीले धोका दिएको आरोप
अहिले श्रीलंकामा नेपाली खर्बपति व्यापारी विनोद चौधरीले जोन किल्सलाई धोका दिएको आरोप लागेको छ । श्रीलंकामा अहिले जोन किल्सले नभई सिजी मोटर्सका सञ्चालकसमेत रहेका खर्बपति विनोद चौधरीले धोका दिएर कर छली गरेको आरोप लागेको छ । यद्यपि कतिपयले भने जोन किल्स र सिजी अटो दुवै मिलेर जानीजानी कानुनी छिद्रहरू प्रयोग गरी श्रीलंकाको सरकारलाई तिर्नुपर्ने कर छली गरेको र राज्यलाई करोडौँ रकम नोक्सान भएको आरोप लगाइएको छ ।

साथै अदालतमा पेस भएका कागजातमा नेपालका खर्बपति विनोद चौधरीले नेपालमा पनि कैयन् व्यापारमा कर छली गरेको र सिजी मोटर्सकै नाममा आयात भएका भ्यान र कारहरूमा पनि कानुनी छिद्रको प्रयोग गर्दै कर छली गरिएको आरोप लगाइएको छ ।
यदि कर छलीको विषय प्रमाणित भएमा यो विषय व्यापारिक नैतिकताको मामला मात्रै नभई राष्ट्रघात र राष्ट्रिय मुद्दा हुने बताइएको छ । अर्बौँ रकमको राजश्व छली गर्दा त्यसको जरिवानासहित तिर्नुपर्ने भएमा सिजी मोटर्स वा नेपाली व्यवसायी विनोद चौधरीले समेत ठूलो रकम तिर्नुपर्ने अवस्था आउन सक्छ । किनभने चौधरीको श्रीलंकामै होटेललगायतका पर्यटन पूर्वाधारमा ठूलो लगानी रहेको कारण पनि सहजरुपमा त्यहाँबाट बाहिर निस्कने अवस्था भने रहँदैन ।
श्रीलंका आफैँमा गरिबी र आर्थिक पुनरुत्थानको सामना गरिरहेको देश भएको कारणले कर छलीको विषयमा व्यापक जनअसन्तुष्टि रहेको छ । स्वदेशी र विदेशी खर्बपतिलाई करमा छुट दिइएको र कानुनी छिद्रको प्रयोग गर्दै कर छली गरेको आरोप लगाएर कारबाहीको माग गरिएको छ ।
जोन किल्स सिजी अटो र सिजी मोटर्समाथिको खुल्ला रहेको जाँचले एउटा बहु-अर्ब रुपैयाँको कर छली घोटाला हुन सक्ने कुरा देखाउँछ । यद्यपि अदालतमा विचाराधीन यो मुद्दामा अन्तिम फैसला आउन भने बाँकी नै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया