काठमाडौं । नेपाली हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहारले देशभरका बजार छपक्कै छोपिसकेको छ । राजधानीका गल्ली, पसल र ठेलामा अहिले तिहारकै रौनक छ । झिलिमिली बत्तीदेखि अन्य सजावटका सामान र भाइ मसलाले बजारको रौनकलाई अझै बढाएको छ ।
भाइटिकाको दिन आउँदै गर्दा काठमाडौंको असन, इन्द्रचोक, न्युरोडलगायतका बजारहरूमा भाइमसला किन्नेको भीड समेत बढिरहेको छ । व्यापारीहरूले भाइमसलाका लागि प्रयोग गरिने विभिन्न सामग्रीहरू जोहो गरी बजारमा बिक्रीका लागि राखिसकेका छन् भने किन्ने ग्राहकहरूको पनि त्यतिकै भिड छ ।
तिहारमा दिदीबहिनीहरूले दाजुभाइलाई टीका लगाएर भाइमसला दिने चलन छ । भाइमसलामा ओखर, नरिवल, काजु, बदाम, पिस्ता, किसमिस, छोकडा, सुकुमेल, मिस्रीलगायतका वस्तुहरू प्रयोग गरिन्छ । यी सामग्रीहरू सेलरोटी, मिठाई र फलफूलसँगै राखिन्छन् ।

अरू समयमा भन्दा तिहारमा यस्ता ड्राइफ्रुटको माग धेरै बढ्ने गर्छ । माग बढेपछि बजारमा मूल्य पनि स्वाभाविक रूपमा बढ्ने गरेको व्यापारीहरू बताउँछन् । साथै, अधिकांश ड्राइफ्रुटहरू विदेशबाट आयात हुने भएकाले पनि मूल्य बढ्ने गरेको छ ।
बजारमा फरक-फरक मूल्य
बजारमा अहिले प्याकेटमा तयार पारिएका भाइमसला सजिलै पाइन्छन् । तर, एउटै वस्तुको मूल्य पसल अनुसार फरक–फरक रहेको उपभोक्ताहरू बताउँछन् ।
असन र इन्द्रचोकका फुटपाथदेखि लिएर ठेलागाडा बजारसम्म व्यापारीहरूले विभिन्न आकारमा भाइमसलाका प्याकेटहरू तयार पारी बिक्रीमा राखेका छन् ।
फुटपाथमा ५० रुपैयाँदेखि १००, १५० रुपैयाँसम्मका मसलाका प्याकेट सजिलै पाइन्छन् । तर कतिपय ठाउँमा त्यही ५० रुपैयाँको मसला ८०, १००, १५०-२०० रुपैयाँसम्ममा बिक्री भइरहेको पाइन्छ ।

असनका व्यापारी चन्द्र शेखरका अनुसार अहिलेको व्यापार पहिलेको जस्तो छैन । उनी भन्छन्, ‘पहिले मसला किन्न असनमै आउनु पर्थ्यो, तर अहिले त जहाँ पनि मसलाको प्याकेट पाइन्छ, त्यसैले ग्राहक छरिएर गए, असनमा त्यस्तो भिडभाड छैन ।’
उनका अनुसार अहिले मसला पहिलेको तुलनामा महँगो भएको छ । ‘पहिले ३० रुपैयाँ पर्ने मसला अहिले ५० पुगेको छ । पाँच सय रुपैयाँको मसला अहिले ७५० पुगेको छ’ उनले भने ।
प्याकेट मसलामा गुनासो
असनका व्यापारीहरूले भन्छन् ‘प्याकेटमा राखिएको मसला राम्रो नभएको’ भन्दै ग्राहकहरूले गुनासो गर्ने गरेका छन् । केही व्यापारीहरूका अनुसार बजारमा नराम्रो गुणस्तरका सामग्री मिसाएर प्याकेटको मसला बनाएर बेच्दा उपभोक्ताको विश्वास घटेको छ । जसका कारण ग्राहकहरू प्याकेटका तयारी मसलाभन्दा आफैँ मसला छनोट गरेर किन्न रुचाउने गरेको व्यापारीहरू बताउँछन् ।
ठेलामा भाइमसला बेच्दै गरेका एक व्यापारीले भने ‘यो वर्ष पनि मसलाको भाउ त बढेको नै छ । त्यो भन्दा पनि धेरै व्यापारीहरूले जथाभाबी नराम्रो सामान हालेर मसलाको प्याकेट बनाएर बेच्दा ग्राहकहरूले अहिले प्याकेट बनाएर तयार पारिएका मसला किन्न छाडिसकेका छन् ।’
भाइमसलामा प्रयोग हुने ड्राइफ्रुटको मूल्य
बजारमा हरेक पसलमा ड्राइफ्रुटको मूल्य फरक-फरक पाइन्छ । यस वर्षको तिहारमा भाइमसलाका औसत मूल्य यस प्रकार रहेको छ :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया