काठमाडौं । ‘जेनजी’ प्रदर्शनपछि सुरक्षाका लागि खटिएको नेपाली सेना स्थिति सामान्य बन्दै गएपछि ४१ स्थानबाट फिर्ता भएको छ । भदौ २३ र २४ गतेको प्रदर्शनपछि उपत्यकाभित्र पाँच र बाहिर ५७ गरी ६२ स्थानमा सेना तैनाथ गरिएको थियो ।
सेनाका अनुसार अहिले पनि २१ स्थानमा फौज तैनाथ छ । सेनाका उपरथी तथा युद्र्धकार्य महानिर्देशक अनुपजङ्ग थापाका अनुसार प्रदर्शनपछिको चुनौतीपूर्ण अवस्थामा सेनाले शून्य मानवीय क्षतिका साथ ६ देखि ८ घण्टाभित्र स्थिति नियन्त्रणमा ल्याउन सफल भएको हो ।
उनका अनुसार सिंहदरबारको मुख्य भवनमा लागेको आगो नियन्त्रणमा लिनुका साथै राष्ट्रिय सुरक्षा परिषद्, रक्षा मन्त्रालय र अर्थ मन्त्रालयका ‘डाटा सेन्टर’ जोगाउन सेनाको महत्वपूर्ण भूमिका रह्यो ।
सेनाले सञ्चालनमा ल्याएको ‘हटलाइन’मार्फत चोरी, लुटपाट र आगजनीजस्ता गुनासाको तत्काल सम्बोधन गरिएको पनि थापाले बताए ।
त्रिभुवन विमानस्थल आक्रमण गर्ने उद्देश्यले भेला भएका करिब दुई हजार प्रदर्शनकारीलाई रोक्दै भदौ २५ देखि विमानस्थल पूर्ण सञ्चालनमा ल्याइएको सेनाले जनाएको छ । विदेशी नागरिक र कूटनीतिक नियोगहरूको सुरक्षा व्यवस्थापन पनि गरिएको थियो ।
सेनाले भन्यो, ‘सिंहदरबारभित्र प्रवेश गरेका प्रदर्शनकारीलाई रोक्न सफल भए पनि भीड बढेपछि घातक हतियार प्रयोग नगरी विशेष सचेतता अपनाइएको थियो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया