बागलुङ । बागलुङको धौलागिरि प्रादेशिक अस्पतालमा बिरामीले औषधि नपाएको गुनासो सार्वजनिक भएपछि गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठक शुक्रबार आकस्मिक अनुगमनका लागि अस्पताल पुगेका छन् ।
बिहीबार अस्पताल फार्मेसीमा स्वास्थ्य बीमामा आबद्ध बिरामीले थाइराइड, उच्च रक्तचाप, सुगर र मुटुसम्बन्धी औषधि नपाएको विषयमा समाचार सार्वजनिक भएको थियो । त्यसपछि मन्त्री पाठक शुक्रबार पोखराबाटै अस्पताल प्रशासनलाई जानकारी नदिई सुटुक्क अनुगमनमा पुगेका हुन् ।
फार्मेसीमा पुग्दा मन्त्रीलाई सुरुवातमा कर्मचारीले चिनेनन् । उनले प्रदेश सरकारले औषधि खरिदका लागि रकम पठाइसकेकाले किन औषधि खरिद नगरिएको भन्दै प्रमुख मेडिकल सुपरिटेन्डेन्ट र फार्मेसी इञ्चार्जलाई प्रश्न गरेका थिए ।
बिरामीहरूले अस्पतालका स्वास्थ्यकर्मीको बाहिर निजी फार्मेसी र प्रयोगशाला चलाउने प्रवृत्तिले अस्पतालमा औषधि अभाव कायम गरिएको गुनासो मन्त्रीसमक्ष राखे । त्यसपछि पाठकले स्वास्थ्यकर्मीलाई ‘अस्पताल रोज्ने कि निजी पसल’ भन्ने स्पष्ट विकल्प दिएका छन् ।
उनले भने, ‘अस्पतालमा जागिर खाएर निजी स्वार्थका लागि बिरामीलाई औषधि नदिई बाहिर पठाउनु गलत हो । प्रदेशले औषधि खरिदका लागि पठाएको रकमले तत्काल औषधि खरिद गर्नुपर्छ ।’
स्वास्थ्य मन्त्री पाठकले दुईतिर काम गर्ने स्वास्थ्यकर्मीमाथि कारबाही गर्न निर्देशन दिँदै मन्त्रालयले छिट्टै परिपत्र जारी गर्ने तयारी गरेको बताए । अस्पतालले समयमा औषधि ल्याउन नसक्दा बिरामी बाहिरका पसलबाट महँगो मूल्यमा औषधि किन्न बाध्य भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया