काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पटक–पटक संसद् विघटन गर्नेहरूले अहिले आएर संसद् पुनः स्थापनाको कुरा गर्नु ‘हास्यास्पद’ भएको टिप्पणी गरेका छन् ।
शनिबार अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् ।
दाहालले भने, ‘हिजो पटक–पटक संसद् विघटन गर्नेहरूले अहिले संसद् पुनः स्थापनाको कुरा गर्नु जस्तो हास्यास्पद कुरा अरू केही हुन सक्दैन । ती साथीहरूलाई म यस्तो वितण्डाको पछि नलाग्न र आजको यथार्थ स्वीकार गरेर निर्वाचन सफल पार्न आग्रह गर्छु ।’
उनका अनुसार तोकिएको समयमा निर्वाचन सम्पन्न नगरे देश फेरि अराजकतातर्फ धकेलिने खतरा रहेको छ । उनले एमालेलाई पनि वर्तमान यथार्थ स्वीकार गरी निर्वाचन सफल बनाउन सहकार्य गर्न आग्रह गरे ।
घोषित समयमा निर्वाचन सफल गर्नु नै संविधान र लोकतन्त्रको रक्षाको अहिलेको सबैभन्दा उत्तम विकल्प हो,‘ दाहालले भने, ‘यसलाई भड्काउने, भाँड्ने प्रयास कसैले नगरोस् ।’
दाहालले वर्तमान सरकार स्वयं एमाले अध्यक्ष ओलीकै सिफारिसमा बनेको भन्दै आफ्नै सिफारिसमा बनेको सरकारलाई ‘हाहाहुहु’को सरकार नभन्न ओलीलाई सुझाव पनि दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया