काठमाडौं । वरिष्ठ अधिवक्ता डा.नारायण घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको आफ्नो आबद्धता अन्त्य गरेका छन् ।
पार्टीका कार्यवाहक महामन्त्रीलाई सम्बोधन गरी लेखिएको पत्रमार्फत उनले शुक्रबारदेखि आफू पार्टीमा नरहने जानकारी गराएका हुन् ।
घिमिरेले केही वर्षदेखि रास्वपाको कानुन विभागसहित अन्य विभागहरूमा कानुन, नीति, नियमावली र पार्टी विधान मस्यौदा कार्यदलमा रहेर योगदान दिएका थिए ।
उनले विशेषगरी प्रवासी नेपाली र गैर आवासीय नेपालीसँग सम्बन्धित कानुनहरूको गहन अध्ययन गरी उनीहरूका समस्या समाधानका लागि कानुनी मस्यौदा तयार पारेका थिए ।
गैर आवासीय नेपालीलाई नेपालको विकास निर्माणमा जोड्ने उद्देश्यले नागरिकता, लगानी लगायतका कानुनमा संशोधन आवश्यक रहेको सुझाव उनले दिएका थिए । साथै, संविधान र कानुन संशोधनको पहल गर्न रास्वपाले अग्रसर हुनुपर्ने धारणा उनले निरन्तर उठाउँदै आएका थिए ।
रवि लामिछानेको सहकारी प्रकरणमा कास्की जिल्ला अदालतमा कानुन विज्ञको रूपमा भूमिका निर्वाह गरेका घिमिरे अन्य अदालतहरूमा लामिछानेविरुद्ध दायर मुद्दाहरूमा भने संलग्न थिएनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया