तोकिएको समयमा निर्वाचन सम्पन्न गराउनु सरकारको प्रमुख प्राथमिकता : प्रधानमन्त्री कार्की

लोकपथ
77
Shares

काठमाडौं । प्रधानमन्त्री सुशील कार्कीले वर्तमान सरकारको प्रमुख प्राथमिकता तोकिएको समयमा निर्वाचन सम्पन्न गराउनु रहेको बताएकी छन् ।

शुक्रबार अपरान्ह सिंहदरबारमा नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग पहिलोपटक सामूहिक भेटवार्ता गर्दै प्रधानमन्त्री कार्कीले आफ्नो नेतृत्वको अन्तरिम सरकारको कार्यप्राथमिकताबारे जानकारी दिएकी हुन् ।

परराष्ट्रमन्त्रीको समेत कार्यभार सम्हालिरहेकी प्रधानमन्त्री कार्कीले नेपालको विदेश नीति र सम्बन्धका बारेमा पनि आफ्नो धारणा राखेकी थिइन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार, प्रधानमन्त्री कार्कीले उक्त भेटका क्रममा निर्वाचनमा अन्तर्राष्ट्रिय सहयोग र समर्थनको अपेक्षा व्यक्त गरेकी थिइन् ।

उनले फागुन २१ गते हुने निर्वाचनमा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूको परिचालनका साथै विदेशमा रहेका नेपाली नागरिकलाई समेत मतदानमा सहभागी गराउने विषयमा सरकार अध्ययनरत रहेको जानकारी गराएकी थिइन् ।

प्रवक्ता क्षेत्रीले भने, ‘यो एक डिप्लोम्याटिक ब्रिफिङ कार्यक्रम थियो । प्रधानमन्त्रीले सरकारको प्रमुख प्राथमिकता चुनाव रहेको बताउँदै त्यससँग सम्बन्धित तीन विषय अन्तर्राष्ट्रिय सहयोग, विदेशी पर्यवेक्षक परिचालन र विदेशस्थित नेपालीको मतदान सहभागिताबारे जानकारी दिनुभएको हो ।’ 

भेटका क्रममा नेपालस्थित विभिन्न देशका राजदूत र कूटनीतिक नियोगका प्रतिनिधिहरू उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?