काठमाडौं । तीन दिनदेखि लगातार बस्दै आएको एमालेको केन्द्रीय कमिटी बैठकमा एकपछि अर्का नेताले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग्ने क्रममा आज केन्द्रीय सदस्य ठाकुर गैरेले पनि ओलीले अध्यक्ष पद छाड्नुपर्ने बताएका छन् ।
ललितपुरमा जारी पार्टीको १०औँ केन्द्रीय कमिटी बैठकमा आज शुक्रबार आफ्नो धारण राख्ने क्रममा उनले अध्यक्ष ओ।लीको राजीनामा मागेका हुन् ।
अध्यक्ष ओलीले प्रस्तुत गरेको विशेष राजनीतिक प्रतिवेदनमा धारणा राख्दै गैरेले भने, ‘प्रस्तुत प्रस्ताव पूर्ण गरौँ, सबै कुरा ध्वस्त भएको छ । कम्युनिस्ट आन्दोलन कति बलियो हुन्छ, परिस्थितिको ठोस विश्लेषण गरेर निष्कर्ष निकालौँ । हामीले संविधान संशोधनको कुरा गरिरहेका थियौँ, हामीसँग ठोस निर्णय थिएन । वाम एकता गरेर निर्माण गरेको सरकार पनि ढल्यो र वाम–लोकतान्त्रिक सरकार पनि ढल्यो, यस्तो समयमा पार्टी रूपान्तरणको मुद्दालाई नेतृत्वको विरोधको रूपमा बुझ्नहुन्न । म यो बैठकलाई नेतृत्व हस्तान्तरण गरेर जाऔँ भन्ने अनुरोध गर्दछु ।’
आजकै बैठकमा केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले पनि अध्यक्ष ओलीको राजीनामा मागेकी थिइन् । दशबुँदे सुझाव र प्रश्न प्रस्तुत गर्दै उनले जेनजी आन्दोलनको एउटा मुख्य माग पार्टीहरूको पुनर्गठन पनि भएकाले एमालेमा नेतृत्व हस्तान्तरण हुनुपर्ने माग गरेकी हुन् ।
उनले भनिन्, ‘हरेक समयमा देशको एउटा कार्यभार हुन्छ । आजको नेपाली राजनीतिको मुख्य कार्यभार दलहरूको पुनर्गठन हो । त्यसका लागि एमालेको पुनर्गठन महत्वपूर्ण छ । कांग्रेसमा त्यो सुरु भइसक्यो । अब अध्यक्षले राजीनामा गरेर मुलुकको राजनीतिक गतिरोधको ढोका खोल्नुपर्छ । यही संरचना लिएर चुनाव वा आन्दोलनमा जानै सकिँदैन । यहाँले बिदा लिएर अभिभावक बन्नेबित्तिकै देशभर सकारात्मक सन्देश जानेछ कमरेड ओली ।’
उनले व्यवसायी मीनबहादुर गुरुङले दान गरेको जग्गा उनैलाई फिर्ता गर्न पनि माग गरेकी छन् । जेनजी आन्दोलनका क्रममा उनको सम्पत्ति क्षति भएको भन्दै उनको सम्पत्ति उनैलाई फिर्ता गर्न केन्द्रीय सदस्य उषाकिरणले माग गरेकी हुन् ।
उनले भनेकी छन्, ‘अन्यथा नलिनुहोला– मीनबहादुर गुरुङको सम्पत्तिमाथि हमला भयो, क्षति भयो, त्यसैले सहयोग विथड्र (फिर्ता) गर्ने निर्णय गरौँ ।’
उनले दुर्गा प्रसाईंलाई एमालेमा भित्र्याएकोमा पनि नेतृत्वले जवाफ दिनुपर्ने बताएकी छन् । साथै निर्वाचनमा सूर्य चिन्हको दुरुपयोग भएकोमा आपत्ति जनाएकी छिन् । उनले भनिन्, ‘ एकपल्ट यो पनि सम्झिऊँ– सूर्य चिह्नमा चुनाव को को र कस्ता प्रतिगामीहरू उठे ? दुर्गा प्रसाईँजस्ता चरम अराजक, प्रतिगामीलाई कसले माला लगाएर पार्टीमा भित्र्यायो ? तिनको जिम्मेवारी कसले लिने हो ? प्रसाईँलाई भित्र्याउँदै गर्दा को–को कमरेडहरूको राजनीतिक जीवनको कत्लेआम गरियो, त्यसका बारे यहाँ कसैले–कसैलाई जवाफ दिनुपर्दैन ? आत्मालोचना गर्नु पर्दैन ?’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया