झापा र मोरङका नाका तस्करीको स्वर्णभूमि, सशस्त्रकै हाकिमहरूको मिलेमतो

लोकपथ
826
Shares

काठमाडौं । चाडपर्व र आन्दोलनको मौका छोपेर झापा र मोरङका नाकाबाट व्यापक मात्रामा तस्करी भइरहेको पाइएको छ । 

झापाबाट गोरु र काठ हरेक दिन भारततर्फ तस्करी हुने गरेको छ । राति १२ बजेपछि सीमा नाकाबाट गोरु बोकेका ट्रक र जिप भारततर्फ जाने गरेको स्रोत बताउँछ । 

सशस्त्र प्रहरीको झापा गणका एसपी तुला भण्डारीले गोरु र काठ तस्करबाट मोटो रकम लिने गरेको बताइन्छ । अहिले एउटा भ्यानमा ५ देखि ७ वटा गोरु राखेर सीमा कटाउने गरिएको छ । ‘त्यस्ता भ्यान रातमा लाइन लागेर सीमा पारी जान्छन्,’ स्रोतले भन्यो । 

झापाको काँकडभिट्टा, घेराबारी, गौरीगञ्ज, सतिघट्टा, भद्रपुर, तिरिङ, नकलबन्दालगायतका नाकाबाट ठूलो मात्रामा भारतबाट भन्सार छलीका सामान आउने गरेको बताइन्छ । 

यता, मोरङका नाका पनि यतिखेर तस्करीको लागि स्वर्णभूमि बन्दै गएको छ । मोरङ नै घर भएका सशस्त्रका एसपी राजेश घिमिरेले तस्करी रोक्नुको सट्टा मिलेमतो गरिरहेको बताइन्छ । 

बिहानैदेखि रक्सीको नशामा हुने घिमिरेका कारण जिल्लाका नाकाबाट खुल्लमखुल्ला तस्करी बढेको छ । मोरङका रानी, बरडंगा, रंगेली, दरैया, सोराभागलगायत सबै नाका तस्करीका लागि खुल्ला जस्तै छन् । कमजोर कमान्ड भएका घिमिरेले संगठनको बदनाम गरेको मोरङकै सशस्त्र प्रहरीले बताउने गरेका छन् । ‘संगठनको नीति आदेशको केही मतलब छिन, टिल्ल पर्न पाए पुग्यो,’ मातहत कर्मचारी गुनासो गर्ने गर्छन् ।

सशस्त्र प्रहरीको नम्बर ३ गण मोरङका गणपति राजेश घिमिरेको कार्यशैलीलाई लिएर यसअघि नै सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा उजुरी परेको थियो । त्यसबेला उनीमाथि सीमा क्षेत्रका बारेमा बेवास्ता गर्ने गरेको, कार्यालयको काममा ध्यान नदिएको, बिहानैदेखि रक्सीको नशामा हुने गरेको, कर्मचारीको कल्याणकारी कार्य र समस्यामा ध्यान नदिने गरेको, घुमुवा मार्फत असुली गर्ने गरेको, रातको समयमा तस्करी गराउने गरेको, संगठनको नीतिविपरीत अधिक कर्मचारी बिदामा छाड्ने गरेको,  तस्करी रोक्नेभन्दा मिलेमतोमा तस्करी गर्ने गरेको भन्दै सशस्त्र मुख्यालयमा उजुरी परेको थियो । उनीविरुद्ध परेको उजुरीलाई लिएर सशस्त्र मुख्यालयले आन्तरिक छानबिन अघि बढाएको भएपनि कुनै ‘एक्सन’ भने हुन सकेको छैन । । स्रोतका अनुसार, राजनीतिक शक्तिको आडमा त्यसबेला उनीमाथिको कारबाही अघि बढ्न नसकेको हो ।

फागुन पहिलो सातादेखि नम्बर ३ गणको कमान्ड सम्हालेका घिमिरेले पदीय दायित्वअन्तर्गतको जिम्मेवारी बहन नगर्दा राजश्व संकलन पनि कम हुँदै गएको छ । यस्तै, सामान बरामदी पनि शून्य प्रायः रहेको छ । बर्दीको आडमा तस्करीलाई प्रेरित गरेको भन्दै उनको आलोचना हुन थालेको छ । केही समयअघि दरैया नाकाबाट ठूलो मात्रामा कपडा तस्करीसमेत भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?