काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा केही उछृङ्खल व्यक्तिहरूको कारणले ठुलो क्षति पुगेको बताएका छन् ।
७०औँ प्रहरी दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री अर्यालले सो घटनामा नेपाल प्रहरीका जवानहरूको मृत्यु भएकोप्रति दुःख व्यक्त गरे ।
उनले अभाव, प्रभाव र दबाबबिच पनि प्रहरीले देखाएको समर्पण र साहसको प्रशंसा गर्दै भने, ‘अभाव र यस किसिमको क्षतिले केवल नेपाल प्रहरीलाई मात्र होइन, नागरिक जीवनलाई समेत प्रभावित पारेको छ । सीमित स्रोत–साधनमा काम गर्दै आएको प्रहरीलाई यस आन्दोलनले निकै ठुलो क्षति पुर्याएको छ ।’
गृहमन्त्री अर्यालले मुलुकको समृद्धि र सुशासनको आधार नै सुदृढ आन्तरिक सुरक्षा भएको उल्लेख गर्दै प्रविधिको तीव्र विकासले नयाँ प्रकृतिका अपराधहरू बढाएको बताए ।
उनले भने, ‘प्रविधिमा देखिएको द्रुत विकास र यसको प्रयोगले नयाँ प्रकृतिका अपराधहरू मौलाएका छन्, जसले गर्दा अपराध अनुसन्धान कार्य थप चुनौतीपूर्ण बन्दै गएको छ ।’
उनले प्रहरीको क्षमता अभिवृद्धि र आवश्यक स्रोत–साधन उपलब्ध गराउन गृह मन्त्रालय तत्पर रहेको समेत बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया