काठमाडौं । ठेक्का सम्झौता गरेर वर्षौँदेखि काम नगरेका ठेकेदारहरूमाथि सरकारले कडाइ गरेको छ ।
सडक विभागअन्तर्गत हुलाकी सडक निर्देशनालय, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं र इटहरी मातहतका कार्यालयहरूले १७ वटा रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु गरेका छन् ।
तीमध्ये विराटनगर, चन्द्रनिगाहपुर र निर्देशनालयले पाँच–पाँच वटा र नुवाकोटले दुई वटा ठेक्का तोड्ने तयारी गरेका छन् । ठेक्कामध्ये अधिकांश पुल निर्माणका आयोजना छन् ।
सबैभन्दा ठुलो आयोजना झापाको ७२३ मिटर लम्बाइको कन्काई पुल हो । जसको ठेक्का १४ वर्षअघि ‘पप्पु–महादेवखिम्ती संयुक्त उपक्रम’ सँग गरिएको भए पनि हालसम्म करिब ५५ प्रतिशत मात्र काम भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिएर काम नगर्ने प्रवृत्ति अन्त्य गर्न निर्देशन दिँदै रुग्ण ठेक्काहरू तोड्ने तयारी तीव्र पारेका छन् । विभागका अनुसार, यस्ता २५८ ठेक्का रुग्ण अवस्थामा छन् ।
सडक विभागले ठेकेदार कम्पनीहरूलाई १५ दिनभित्र स्पष्टीकरण र कार्य योजना पेस गर्न आग्रह गरेको छ । समयमै काम नगर्ने ठेकेदारलाई कालोसूचीमा राख्ने, जमानत र पेस्की जफत गर्ने, र पेस्कीको १० प्रतिशत ब्याजसहित असुल गर्ने चेतावनी दिइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया