काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारले यसअघिको सरकारले नियुक्त गरेका विभिन्न ११ देशका आवासीय राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ११ देशका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो । जसमा चीनदेखि संयुक्त राज्य अमेरिकासम्मका आवासीय राजदूतहरु परेका छन् ।
सरकारले विभिन्न देशका राजदूत नियुक्त गर्दा उत्तरी छिमेकी चीन र दक्षिणको छिमेकी देश भारतमा राजदूत नियुक्त गर्दा भने महत्वका साथ हेरिन्छ ।
बिहीबार सरकारले चीनका राजदूत फिर्ता बोलाउने निर्णय गर्दा भारतका राजदूतलाई भने यथावत राखेको छ ।
सरकारले आज उत्तरी छिमेकी देश चीनमा कार्यरत नेपाली राजदूत प्रा.डा. कृष्णप्रसाद ओलीलाई फिर्ता बोलाएको छ ।
हाल भारतका लागि नेपाली राजदूतमा डा. शंकरप्रसाद शर्मा कार्यरत रहेका छन् । तर शर्मालाई भने यथावत राखिएको छ ।
ओलीलाई यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले २०८१ साल कार्तिक २५ गते चीनका लागि नेपाली आवासीय राजदूत नियुक्त गर्ने निर्णय गरेको थियो ।
भारतका लागि नेपाली राजदूत रहेका शर्माको दोस्रो कार्यकाल हो ।
२०७८ साल चैत ६ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले डा. शर्मालाई पहिलोपटक राजदूत नियुक्त गरेकी थिइन् ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले राजदूत शर्मालाई फिर्ता बोलाउने निर्णय गरेको थियो । तर ०८१ साल असार अन्तिममा एमालेसँगको माओवादीको सरकार्य तोडिएपछि कांग्रेस–एमालेको सरकार गठन भयो । त्यसपछि भने पुनः शर्मालाई नै निरन्तरता दिने निर्णय भएको थियो ।
हरेक पटक सरकार परिवर्तन भएसँगै धेरै देशका राजदूतहरुलाई हेरफेर गर्ने गरिन्छ । निरन्तर राजदूतहरु फेरिँदा कुटनीतिक जटिलताहरु आइरहने भन्दै सरकारको आलोचना समेत हुने गरेको छ ।
यो पनि…
११ देशका राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय, कोको परे ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया