बालेनको दाबी– ‘२३ अर्बको बराबरको मिचिएको जग्गा फिर्ता ल्यायौँ, २ खर्बको जग्गा फिर्ता ल्याउने लक्ष्य’

लोकपथ
763
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफू महानगरको नेतृत्वमा आएसँगै २३ अर्ब मूल्य बराबरको सार्वजनिक जग्गा फिर्ता ल्याइसकेको दाबी गरेका छन् ।

सामाजिक सञ्जालमा फेसबुकमा लेख्दै मेयर बालेनले आफू नेतृत्वमा आइसकेपछि २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता ल्याइसकेको बताए । साथै आगामी दिनमा २ खर्ब मूल्य बराबरको १ हजार ८ सय ५९ रोपनी १४ आना जग्गा फिर्ता ल्याउने लक्ष्य रहेको बताए ।

‘हामी काठमाडौं महानगरमा आएपछि २३ अरब रुपियाँ मूल्य बराबरको २०८ रोपनी भन्दा धेरै सार्वजनिक जग्गा फिर्ता गरिसकेका छौँ, हाम्रो लक्ष्य करिब २ खरव मूल्य बराबरको १ हजार ८५९ रोपनी १४ आना जग्गा अतिक्रमण हटाउने होे,’ उनले भनेका छन् ।

त्यस्तै स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा टेकेर आफूहरुले सार्वजनिक जग्गा मिच्ने, हडप्ने र कब्जा गर्ने प्रवृत्ति विरुद्ध अभियान नै सञ्चालन गरिरहेको बताए ।

‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले सार्वजनिक जग्गा र सम्पत्तिको संरक्षण, व्यवस्थापन तथा पुनः प्राप्तिको सम्पूर्ण अधिकार स्थानीय सरकारलाई दिएको छ । हामी निर्वाचित भएको पहिलो दिनदेखि नै “सार्वजनिक सम्पत्तिमा जनताको पहूँच वृद्धि गर्ने” नीति लिएर काम गरिरहेका छौँ । यस क्रममा सार्वजनिक जग्गा मिच्ने, कब्जा गर्ने, र हडप्ने प्रवृत्तिको अन्त्य गर्न अभियान नै सञ्चालन गरिहेका छौँ,’ मेयर बालेनले भने ।

त्यस्तै फिर्ता भएका जग्गाहरुलाई पुनः कब्जा नहोस् भन्नका लागि पार्क, खेलकुद मैदान, स्केटबोर्ड, सत्तल, हरित क्षेत्र र सार्वजनिक उपयोगका स्थलहरुका रुपमा राखिएको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?