कास्की कारागारबाट भागेका ८१ कैदीबन्दी पक्राउ, २ सयभन्दा बढी अझै फरार

लोकपथ
77
Shares

कास्की । गत भदौ २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा कास्की कारागारको बन्दी गृहबाट फरार भएका ८१ जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ ।

कारागार विभागले फरार कैदी तथा थुनुवालाई असोज २० गतेभित्र स्वेच्छाले कारागारमा फर्किन आग्रह गरेको थियो । सो म्यादभित्र नफर्केका कैदीबन्दीलाई देशका विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए ।

उनका अनुसार भदौ २३ र २४ गतेको प्रदर्शन, तोडफोड तथा आगजनीपछि फरार भएका कैदीहरूलाई तोकिएको समयमा फर्कन आग्रह गरिएको थियो । नफर्केका व्यक्तिहरूमाथि प्रहरीको खोजतलास जारी छ र धेरैलाई पक्राउ गरिएको छ, ‘उनले भने ।

पक्राउ परेकामध्ये जबरजस्ती करणी र लागु औषध सम्बन्धी मुद्दाका १६–१६ जना, चोरी मुद्दाका २५ जना, कर्तव्य ज्यान मुद्दाका आठ जना, ज्यान मार्ने उद्योगका नौ जना, अभद्र व्यवहारका चार जना तथा सवारी, कुटपिट र मानव बेचबिखन मुद्दाका एक–एक जना रहेका छन् ।

जिल्ला कारागारका प्रशासक राजेन्द्र शर्माका अनुसार, प्रदर्शनका क्रममा कारागारबाट भागेका ७७३ जनामध्ये अझै पनि दुई सयभन्दा बढी फरार रहेका छन् । असोज १२ गते जारी सूचनामार्फत असोज २० गतेभित्र फर्किन समय दिइए पनि नफर्केका र सम्पर्कमा नआएकाहरूको खोजी कार्य प्रहरीद्वारा निरन्तर भइरहेको उनले बताए ।

कारागार प्रशासनका अनुसार, फरार कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई समेत कानुनअनुसार कारबाही गरिनेछ । प्रदर्शनका क्रममा कार्यालयका कागजी अभिलेख जले पनि कम्प्युटर प्रणाली र केन्द्रीय नेटवर्कमा रहेका सबै अभिलेख सुरक्षित रहेको प्रशासक शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?