समाजवादी मोर्चाबिचको एकता यथाशीघ्र हुन्छ : प्रचण्ड

लोकपथ
175
Shares
फाइल तस्बिर

 चितवन ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजवादी मोर्चामा रहेका दलहरूबिच छिट्टै एकता हुने बताएका छन् ।

आज चितवनमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले मोर्चामा रहेका दलहरूको एकताको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् ।

संयोजक दाहालले भने, ‘यस पटक धेरै वामपन्थी पार्टीबीचको एकता सामाजवादी मोर्चाबाट सुरु गर्छौँ । सबै वामपन्थी दललाई एक ठाउँमा ल्याएर अघि बढ्ने योजनाका साथ हामी अघि बढेका छौँ ।’

उनले केही दिनमै मोर्चाभित्रको एकता हुने र यसले राजनीतिक दलहरूको ध्रुवीकरण गर्दै समाजवादी क्रान्तिको सुरुआत गर्ने विश्वास व्यक्त गरे। उनका अनुसार पार्टी एकता अन्ततः एमालेसम्म पुगेर रोकिनेछ ।

साथै, प्रचण्डले पछिल्लो समय सामाजिक सञ्जालमार्फत सञ्चालित युवाको आन्दोलनलाई ‘नयाँ राजनीतिक चेतना’को संकेतको रूपमा लिएका छन् ।

उनले भने, ‘युवाहरूले भ्रष्टाचार विरोधी माग उठाएका छन् । अहिलेको पुस्ताले भ्रष्टाचार अन्त्य र सुशासनको मार्ग खोज्नु गौरवको विषय हो।’

प्रचण्डको यो अभिव्यक्तिले युवा आन्दोलन र माओवादीका परम्परागत मागबिचको सम्बन्धलाई जोड्दै आगामी राजनीतिक परिदृश्यमा वामपन्थी दलहरूको सक्रिय भूमिका र भविष्यको दिशा स्पष्ट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?