काठमाडौं । केही वर्षयता शहरी क्षेत्रका बासिन्दाको शारीरिक परिश्रम कम हुँदै गएको छ । पेपर वर्क र टेबल वर्कमा व्यस्त हुने तथा दौडधुप र परिश्रम गर्न समय अभाव हुने समस्या हरेकले सामना गरिरहेका छन् ।
दैनिक रूपमा शारीरिक परिश्रम सँगै खानपानमा ध्यान दिनु अत्यावश्यक हुन्छ । नियमित रूपमा स्वस्थ खाना खानुले शरीरलाई ऊर्जा र काम गर्ने शक्ति प्रदान गर्छ । तर, आजको व्यस्त जीवनशैलीका कारण धेरै मानिससँग खाना बनाउने वा समयमै खाने फुर्सद नहुँदा उनीहरूको खाने बानीमा परिवर्तन आएको छ ।
त्यसैले स्वस्थ र तन्दुरुस्त रहनका लागि नियमित रूपमा खाना खानु जरुरी हुन्छ । खानाले शरीरलाई ऊर्जा र काम गर्ने शक्ति दिन्छ ।
स्वस्थ जीवनशैलीका लागि स्वस्थकर खाना खाने र खाने तौरतरिका सुधार गर्नु आवश्यक हुन्छ । हाम्रो शरीरको मागअनुसार ऊर्जा प्रवाह गर्न र त्यसलाई नियमितता दिन खाने आदत सुधार्नु नै सबैभन्दा राम्रो उपाय हो । अहिले हामीले एकै पटक धेरै खाने र लामो समय भोकै बस्ने बानी परिवर्तन गर्नु आवश्यक छ ।

धेरै खाना खाँदा पाचन प्रणालीले एकै पटकमा काम गर्नुपर्ने भएकाले पेट फुल्ने, अपच हुने हुन्छ । शरीरले थोरै मात्रामा खाना खाँदा थकान महसुस गर्दैन र पोषक तत्त्वहरूलाई अझ प्रभावकारी रूपमा प्रशोधन गर्न सक्छ । केही मानिस दिनमा धेरै पटक थोरै मात्रामा खान्छन् भने केहीले एकै पटक पेटभरि खाना खान रुचाउँछन् । यस्तैमा प्रश्न उठ्छ कुन तरिका बढी स्वास्थ्यकर हो ?
मेडिसिटी अस्पतालमा कार्यरत पोषणविद् डा. रुजु खड्का भन्छिन्, ‘खानाहरूको बिचमा थोरै–थोरै खाजा खानाले अर्को खाना खाँदा धेरै खानबाट बचाउँछ । थोरै-थोरै गरी बारम्बार खानु धेरै फाइदाजनक हुन्छ । यस्तो खानाले शरीरको मेटाबोलिजम सक्रिय रहन्छ र तौल नियन्त्रणमा रहन्छ । बारम्बार खानाले रगतमा चिनीको मात्रा स्थिर रहन्छ, जसले मधुमेहका बिरामीका लागि फाइदा पुर्याउँछ । पाचन प्रणाली सन्तुलित रहन्छ र अपच वा कब्जियतको समस्या कम हुन्छ । लगातार थोरै खानाले भोक नियन्त्रणमा रहन्छ र अत्यधिक खानबाट जोगाउँछ ।’

एकै पटक पेटभरि खानुका बेफाइदा
एकै पटक धेरै खाना खानु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । पोषणविद्का अनुसार यस्तो खाने बानीले पाचन प्रणालीमा दबाब पारी अपच र कब्जियतको समस्या निम्त्याउन सक्छ ।
त्यसैगरी, एकैपटक धेरै चिनीयुक्त वा कार्बोहाइड्रेटयुक्त खाना खाँदा रगतमा चिनीको स्तर अचानक बढ्न सक्छ, जसले दीर्घकालीन रूपमा मेटाबोलिक समस्या र तौल वृद्धि हुने सम्भावना बढाउँछ ।
पोषणविद्सका अनुसार सन्तुलित मात्रा र नियमित समयमा खाना खाने बानी अपनाउनु स्वास्थ्यका लागि लाभदायी हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया