१३ सय प्रतिनिधिको हस्ताक्षर आए अध्यक्ष पद छोड्न तयार छु : राजेन्द्र लिङ्देन

लोकपथ
679
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र असन्तुष्ट पक्षले आवश्यक हस्ताक्षर जुटाए विशेष महाधिवेशन बोलाउन र अध्यक्ष पद छाड्न तयार रहेको बताएका छन् ।

बुधबार बसेको राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठकका निर्णय सार्वजनिक गर्दै अध्यक्ष लिङ्देनले भने, ‘पार्टीमा अध्यक्ष हटाउने प्रक्रिया चाहिने हो भने विशेष महाधिवेशन बोलाउनुपर्छ । हाम्रो पार्टीमा करिब ४६ सय महाधिवेशन प्रतिनिधि छन् । तीमध्ये २५ प्रतिशत, अर्थात् करिब १३ सय जनाको हस्ताक्षर जुटाएर माग आयो भने म महाधिवेशन पनि बोलाउँछु र अध्यक्ष पद पनि छोड्छु ।’

उनले पार्टीभित्रको असन्तुष्ट पक्षलाई चेतावनी दिँदै भने, ‘केही व्यक्तिलाई मन नपरेको भरमा म अध्यक्ष पद छोड्दिनँ । तर, यदि २५ प्रतिशत प्रतिनिधिले औपचारिक रूपमा माग गरे भने म आफूलाई योग्य नठानेर जिम्मेवारी हस्तान्तरण गर्न तयार छु ।’

हाल राप्रपाका महामन्त्री धवलशमशेर जबरा र कुन्ती शाहीले अध्यक्ष लिङ्देनको कार्यशैलीमाथि असन्तुष्टि जनाउँदै आएका छन् । उनीहरूकै आलोचनालाई सम्बोधन गर्दै लिङ्देनले २५ प्रतिशत हस्ताक्षर जुटाएर विशेष महाधिवेशन माग्न चुनौती दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?