मन्त्री घिसिङ र नेपालका लागि जर्मनीका राजदूतबिच भेट, ऊर्जा सहकार्यबारे छलफल

लोकपथ
112
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङसँग नेपालका लागि जर्मनीका राजदूत उडो युजेन भोल्जले शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा राजदूत भोल्जले मन्त्री घिसिङलाई पदभार ग्रहण गरेको अवसरमा बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे।

भेटका क्रममा नेपाल–जर्मनीबिचको आर्थिक सहकार्य, जर्मनीको सहायतामा सञ्चालित सौर्य परियोजना, लेखनाथ–दमौली २२० केभी प्रसारण लाइन आयोजना, र ऊर्जा रूपान्तरणका सम्भावित क्षेत्रहरूबारे विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ ।

मन्त्री घिसिङले जर्मनीले नेपाललाई दीर्घकालदेखि दिँदै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा थप सहायता विस्तार गर्न आग्रह गरे । उनले जर्मनीको सहयोगमा बनेका मध्यमर्स्याङ्दी र मर्स्याङ्दी जलविद्युत् आयोजनालाई नेपालको ऊर्जा क्षेत्रको ‘लाइफ लाइन’ भन्दै प्रशंसा गरे ।

त्यसैगरी, जर्मनी र युरोपेली संघको संयुक्त सहयोगमा अघि बढाइएको पोखरा–बुटवल–भरतपुर हरित त्रिकोण परियोजना सन् २०२९ सम्ममा सम्पन्न हुने बताउँदै मन्त्री घिसिङले उक्त परियोजनाले ऊर्जा खपत, विद्युतीय सवारीसाधन प्रयोग र घरायसी विद्युत् विस्तारमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे ।

उनले तीन सहर पोखरा, बुटवल र भरतपुरलाई जोड्ने गरी ट्रली बस सञ्चालन, चार्जिङ स्टेसन स्थापना र प्रसारण वितरण प्रणाली सुधारका लागि अध्ययन तथा सहयोग गर्न जर्मनीलाई आग्रह गरे । साथै, जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सार्वजनिक तथा सरकारी संरचनाको परीक्षण र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय विज्ञ उपलब्ध गराउन पनि उनले अनुरोध गरे ।

राजदूत भोल्जले जर्मनीले नेपाललाई आगामी दुई वर्षका लागि सहायता क्षेत्रको पुनरावलोकन गर्ने तयारीमा रहेको जनाउँदै, आगामी डिसेम्बरमा परामर्श टोली नेपाल आउने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?