कांग्रेसमा विशेष महाधिवेशन पक्षधर २४८८ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाइयो

लोकपथ
1.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनको पक्षमा संकलन भएको हस्ताक्षर बुझाइएको छ ।

विशेष महाधिवशेन पक्षधरहरुले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका हुन् ।
कांग्रेसका युवा नेता गुरुराज घिमिरेले पार्टी कार्यालय सानेपामा देशभरबाट संकलित २ हजार ४ सय ८८ हस्ताक्षर बुझाएका हुन् । कांग्रेसको १४औँ महाधिवेशनमा देशभरबाट ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधि रहेका थिए ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा रहेका ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये ६८ जनाले दल त्याग गरेका छन् । यस्तै यसबिचमा ४६ जना महाधिवेशन प्रतिनिधिको मृत्यु भएको बताइएको छ । अहिले महाधिवेशन प्रतिनिधि ४५५६ जना छन् । तीमध्ये २४८८ जना प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरेका हुन् ।

कांग्रेस विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले कारण खुलाएर विशेष महाधिवेशन माग गरेमा तीन महिनाभित्र त्यस्तो विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ।

महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर बुझेपछि कार्यवाहक सभापति खड्काले भने कुनै प्रतिक्रिया दिएका छैनन् । उनले ‘जय नेपाल’ भन्दै त्यहाँबाट बाहिरिएका थिए ।

जेनजी आन्दोलनपछि नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन नै बोलाएर भए पनि तत्काल नेतृत्व परिवर्तन गर्नुपर्ने आवाज उठिरहेको थियो । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले देशभर समयमा नियमित महाधिवेशन गराउन दबाब दिनेगरी विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन अभियान चलाएका थिए ।

यता कांग्रेसले मंसिरको अन्तिम साता महाधिवेशन गर्नेगरी तयारी गरेको छ ।

यो पनि…

कांग्रेसका ५० प्रतिशत प्रतिनिधिले गरे विशेष महाधिवेशनकाे पक्षमा हस्ताक्षर : कुन प्रदेशबाट कति ? [विवरणसहित]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?