कांग्रेसले भन्यो : ‘निर्वाचनको तयारी सुरु गर्छौँ’

लोकपथ
231
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता श्यामकुमार घिमिरेले पार्टी आगामी निर्वाचनको तयारीमा लागेको बताएका छन् ।

बुधबार सभामुख देवराज घिमिरेसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कांग्रेस निर्वाचनबाट पछि नहट्ने स्पष्ट पारे ।

उनका अनुसार लोकतान्त्रिक पार्टी भएकाले निर्वाचनबाट भाग्ने कुरा नै उठ्दैन । ‘हामी लोकतान्त्रिक मूल्यमा विश्वास गर्ने पार्टी हौं, त्यसैले निर्वाचनको बाटोबाट पछि हट्दैनौँ, ‘नेता घिमिरेले भने ।

घिमिरेले वर्तमान सरकार र संसद् विघटन असंवैधानिक रहेको दाबी गरे । उनले संसद् विघटन र नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट परिसकेको बताउँदै अदालतको फैसला आएपछि त्यसअनुसार कांग्रेसले आगामी कदम चाल्ने स्पष्ट पारे ।

उनले भने, ‘अहिलेको परिस्थितिमा सभामुखले दलहरूको धारणा सुन्नुभएको छ । हाम्रो पार्टीले विघटन असंवैधानिक भएको धारणा राखिसकेको छ । लोकतान्त्रिक पार्टी भएको नाताले हामी निर्वाचनका पक्षमा छौँ र त्यसको तयारीमा लाग्छौँ । सर्वोच्च अदालतको निर्णयको सम्मान गर्छौँ ।’

नेता घिमिरेले हालै कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी रहेको जानकारी दिँदै उक्त बैठकले आगामी रणनीति र तयारीबारे थप निर्णय गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?