काठमाडौं । सशस्त्र प्रहरीले हिजो राति १ सय ६८ जनाको कमान्ड सूची प्रकाशन गर्यो । अस्थायी कार्यालयमा काज सरुवा गरिएको र संगठनको नीतिअनुसार भन्दै मुख्यालयले बुधबार बिहान मिडियामा खबरसमेत पठायो । तर सरुवा हेर्दा केही अधिकृतलाई मालदार अड्डा दिइएको छ ।
त्यसमध्ये एक हुन् सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोज गुरुङ । उनलाई आकर्षक मानिने रुपन्देहीको डण्डा बीओपीमा सरुवा गरिएको छ । जबकि उनी यसअघि बुटवलको बेसमा थिए ।
सशस्त्रले एउटै प्रदेशमा बसेकालाई फरक प्रदेश पठाएको बताए पनि गुरुङलाई रुपन्देहीमा नै दोस्रो कमान्ड दिइएको छ । ‘पहिले बुटवल बसेकालाई अहिले फेरि भैरहवा किन पठाउनु पर्यो ? यसमा कसको चलखेल हाबी भयो ?,’ मुख्यालयका एक अधिकृतले प्रश्न गरे ।
बुटवल बस्दा गुरुङलाई भैरहवाको व्यापारबारे राम्रो जानकारी भएको र त्यही मिलेमतोमा पठाइएको बताइन्छ ।
एउटै प्रदेश नहालिएको भनिए पनि डीएसपी रञ्जन बुढाथोकीलाई रौतहटबाट सर्लाही, डीएसपी सुरज कार्कीलाई पर्सा गणबाट बीओपी पर्सा, डीएसपी दिनेश श्रेष्ठलाई मोरङबाट झापा, इन्सपेक्टरहरु पदम पुनलाई दाङबाट नवलपरासी, कुलबहादुर खड्कालाई नवलपरासी तालिम केन्द्रबाट नवलपरासी बीओपीलगायत अन्य थुप्रैलाई नजिकका जिल्लामा पठाइएको छ ।
स्रोतका अनुसार भन्सार इलाकामा कसको सरुवा गर्ने भन्ने अन्तिम निर्णय अनुगमन शाखाका डीएसपी सुदीप रेग्मीको हुने गर्दछ । उनले आफ्ना निकटलाई छानिछानी बोर्डरमा पठाउने गर्दै आएका छन् ।’
सिसं ७ सशस्त्र प्रहरी निरीक्षक बेसिकका उनीमाथि आफूसँग नमिल्नेलाई दुःख दिने गरेको आरोप छ । गलत रिपोर्टिङ गरेर उनले नेतृत्वलाई समेत गुमराहमा राख्ने गरेको आरोप पनि छ । रेग्मीमाथि सीमा क्षेत्रहरूमा सादा पोसाकका सशस्त्र प्रहरी पठाएर तस्करसँग बार्गेनिङ गर्न लगाउने आरोप पनि लाग्दै आएको छ । यसअघि रौतहटमा ६ सय बोरा चिनी लुकाइएको प्रकरणमा पनि उनले खटाएका सादा पोसाकका घुमुवाले बार्गेनिङ गरेको समाचार यसअघि नै आइसकेको छ ।
हिजो रातिको सरुवामा मानवस्रोत विभागका एआईजी बंशीराज दाहालको हस्ताक्षर छ । एक वर्षभन्दा बढी सो विभागमा बसिसकेका दाहालले ‘गुरुङलाई फेरि एउटै प्रदेशमा सरुवा गर्दा पनि किन बोल्न सकेनन् ?’ भन्ने प्रश्न पनि उठेको छ ।
अर्को स्रोत भन्छ, ‘एआईजी दाहाल त हस्ताक्षर गर्ने मात्र हुन्, बोर्डरमा को कहाँ भन्ने रेग्मीलाई मात्र थाहा हुने गरेको छ ।’
यस्तो थियो सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले आज बिहान सञ्चार माध्यमलाई पठाएको समाचार
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले बदलिँदो सुरक्षा चुनौतीलाई मध्यनजर राख्दै एकैपटकमा १ सय ६८ जना सशस्त्र प्रहरी अधिकृतहरूको कमान्ड जिम्मेवारी बदली गरेको छ । जसमा सशस्त्र प्रहरी नायव उपरीक्षक २६ जना, सशस्त्र प्रहरी निरीक्षक ९३ जना र सशस्त्र प्रहरी नायव निरीक्षक ४९ जना गरी जम्मा १ सय ६८ जनाको बदली गरिएको छ ।
मुख्यालयले कमान्डमा खटिने अधिकृतहरूको पहिले नै पूर्वानुमान सूची प्रकाशन गर्ने र सोही पूर्वानुमान सूचीमा रहेका अधिकृतहरूलाई नै कमान्ड जिम्मेवारीमा खटाउँदै आएको छ । यस बाहेक विगतमा सीमा क्षेत्रमा खटिएर राजश्व संकलनमा उत्कृष्ट कार्य गरेका अधिकृतहरूलाई कमान्डमा प्राथमिकतामा राखेर जिम्मेवारी दिइएको छ । वर्तमान अवस्थामा राजश्व संकलनलाई विशेष जोड दिँदै सोही कार्यमा विगतका ट्र्याक रेकर्डअनुसार अधिकृतहरूलाई जिम्मेवारी दिने नीति संगठनको रहेको छ । यसैगरी लामो समय एउटै प्रदेशमा कार्यरत अधिकृतलाई फरक प्रदेशको युनिटहरूमा खटाइएको छ ।
अनिवार्य अवकाश हुन कम अवधि बाँकी रहेका सशस्त्र प्रहरी अधिकृतहरूलाई प्राथमिकतामा राखी कमान्ड जिम्मेवारी खटाउने तथा आफ्नो वतन तथा कार्यरत क्षेत्र भन्दा फरक भौगोलिक क्षेत्रमा कामकाज गर्ने गरी जिम्मेवारीमा खटाउँदै आएको मुख्यालयले जनाएको छ ।
मुख्यालयले आफूलाई तोकिएको जिम्मेवारी पूरा नगर्ने तथा आचरणविपरीतको कार्यमा संलग्न अधिकृतलाई कमान्ड जिम्मेवारीबाट समेत हटाउँदै आएको छ ।’
हेर्नुस् सरुवा सूची









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया