स्वास्थ्य बीमा बोर्डको ९ बुँदे व्यवस्था : कडा रोगमा एकपटक मात्र रिफर लिनुपर्ने

लोकपथ
1.9k
Shares

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले रिफर (प्रेषण) प्रणालीमा देखिएका समस्या समाधानका लागि ९ बुँदे निर्णय गरेको छ।

बीमितहरूले प्रथम सेवा विन्दुबाट रिफरल सेन्टरमा जाँदा भोग्नुपरेका प्रक्रियागत समस्या र गुनासा सम्बोधन गर्न बोर्डले उक्त निर्णय गरेको हो ।

बोर्डले २०८२ असोज २७ गते कार्यकारी निर्देशकस्तरको बैठकमार्फत ९ बुँदे निर्णय गर्दै उपचार प्रक्रिया सहज र सरलीकृत हुने व्यवस्था गरेको हो ।

बोर्डका अनुसार क्यान्सर, मुटु रोग, मिर्गौला रोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम, अल्जाइमरजस्ता कडा खालका रोगहरूमा अब एक पटक मात्र प्रेषण लिनुपर्नेछ। सोही रोगको फलोअप उपचारका लागि पुनः रिफर लिनु नपर्ने व्यवस्था गरिएको छ।

त्यस्तै, अति गरिब परिचयपत्र प्राप्त परिवार, अति अशक्त अपाङ्गता भएका व्यक्ति, कुष्ठरोग, एचआईभी संक्रमित, जटिल क्षयरोगी, ७० वर्षमाथिका ज्येष्ठ नागरिक, र महिला स्वास्थ्य स्वयंसेविकालाई पनि सोही सुविधा लागू हुने बोर्डले जनाएको छ।

यस्तै, आँखा स्वास्थ्यसम्बन्धी जटिल समस्या, गर्भवती तथा सुत्केरी महिला (जटिल प्रसूति वा सिजेरियन) र दम, सिजोफ्रेनिया, बाइपोलर डिसअर्डर जस्ता मानसिक रोगका बिरामीका हकमा पनि फलोअप उपचारका लागि पुनः प्रेषण आवश्यक नपर्नेछ ।

बोर्डले स्पष्ट पारेको छ कि एउटै रोगका लागि गरिएको प्रेषण सेवाले सोही रोगको फलोअपका लागि पर्याप्त ठहरिनेछ । आकस्मिक अवस्थामा उपचार लिएर त्यसै रोगको फलोअप गर्नुपर्ने भएमा पनि नयाँ रिफर लिनुपर्ने छैन ।

यदि उपचारको क्रममा अर्को रोगको परीक्षण आवश्यक परेमा सोही अस्पतालभित्र अर्को विभागमा रिफर गरेर सेवा लिन सकिने व्यवस्था गरिएको छ। तर, सो विभागमा पुनः फलोअप गर्नुपर्ने अवस्थामा भने नयाँ रिफर लिनुपर्नेछ।

बोर्डले प्रेषण केन्द्रबाट सेवा अपुग भएको अवस्थामा नजिकको अर्को अस्पतालमा पनि प्रेषण गर्न सकिने बताएको छ। साथै, ज्येष्ठ नागरिक, फरक क्षमता भएका व्यक्ति र शारीरिक रूपमा कमजोर बीमितहरूलाई सहज र सुनिश्चित सेवा उपलब्ध गराउन अस्पतालहरूलाई आवश्यक तयारी मिलाउन आग्रह गरेको छ।

अबदेखि अस्पतालहरूले बिरामीको प्रेस्क्रिप्सनमा फलोअपको सम्भावित मिति वा अवधि अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने र हरेक पटक क्लेम गर्दा पहिलो रिफर नम्बर अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?