अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब, वृद्धिदर ४.६१ प्रतिशत

लोकपथ
231
Shares

 काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा नेपालमा आर्थिक वृद्धिदर चार दशमलव ६१ प्रतिशत पुगेको छ भने अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब २२ करोड रुपैयाँ बराबर देखिएको छ ।

अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार, गत आवमा कुल १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरिएकोमा रु १५ खर्ब १२ अर्ब ९८ करोड अर्थात् ८१.३३ प्रतिशत खर्च भएको छ ।

चालु खर्चमा ११ खर्ब ४० अर्ब ६७ करोड विनियोजन भएकोमा ९ खर्ब ५६ अर्ब ३६ करोड अर्थात् ८३.८४ प्रतिशत खर्च भएको देखिएको छ । पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड विनियोजन भएकोमा २ खर्ब २३ अर्ब ९४ करोड अर्थात् ६३.५६ प्रतिशत खर्च भएको प्रतिवेदनमा उल्लेख छ । वित्तीय व्यवस्थामा ३ खर्ब ६७ अर्ब २८ करोड विनियोजन भएकोमा ३ खर्ब ३२ अर्ब ६७ करोड अर्थात् ९०.५८ प्रतिशत खर्च भएको छ ।

गत आर्थिक वर्षमा कुल राजस्व संकलन ११ खर्ब ९६ अर्ब १८ करोड ९८ लाख रुपैयाँ पुगेको छ । जसमध्ये कर राजस्व १० खर्ब ४९ अर्ब ८७ करोड ५४ लाख, गैरकर राजस्व १ खर्ब २८ अर्ब ९४ करोड ४८ लाख र अन्य प्राप्ति १७ अर्ब ३६ करोड ९६ लाख रहेको छ । बजेटमा तोकिएको लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड ३० लाखको तुलनामा ८४.२८ प्रतिशत मात्र राजस्व संकलन भएको देखिएको छ ।

वैदेशिक सहायता अन्तर्गत गत आवमा अनुदान २३ अर्ब ५३ करोड र ऋण १ खर्ब २५ अर्ब ४० करोड गरी कुल १ खर्ब ४८ अर्ब ९३ करोड प्राप्त भएको छ । प्राप्त वैदेशिक सहायता मध्ये अनुदान १५.८० प्रतिशत र ऋण ८४.२० प्रतिशत रहेको छ ।

घाटा बजेट परिपूर्तिका लागि सरकारले ३ खर्ब २९ अर्ब ९९ करोड आन्तरिक ऋण र १ खर्ब २५ अर्ब ४० करोड बाह्य ऋण गरी कुल ४ खर्ब ५५ अर्ब ३९ करोड रुपैयाँ सार्वजनिक ऋण परिचालन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?