काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पार्टी, संविधान र राष्ट्रियतामाथि आक्रमण भइरहेको अवस्थामा पार्टीभित्र एकता कायम गर्दै अघि बढ्नु अपरिहार्य भएको बताएका छन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अहिलेको अवस्थामा नेतृत्व परिवर्तनको बहसले पार्टीभित्र अनावश्यक विषयान्तर र विभाजन ल्याउने चेतावनी दिएका छन् ।
उनले भने, ‘अहिले मुलुकमा ठुलो चुनौती छ । पार्टी र संविधानमाथि नै आक्रमण भएको छ, राष्ट्रियताको जगलाई कमजोर पार्ने प्रयास भइरहेको छ । यस्तो बेला नयाँ नेतृत्वको बहस गर्नु भन्दा पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नु नै प्राथमिकता हुनुपर्छ ।’
डा. महतका अनुसार सभापति शेरबहादुर देउवाले आगामी महाधिवेशनपछि नेतृत्व नलिने घोषणा गरिसकेका छन् र कार्यवाहक पनि तोकीसकेका छन् । त्यसैले नेतृत्व परिवर्तनका नाममा भइरहेको विवादले पार्टीमाथि प्रश्न खडा गरेको उनको टिप्पणी छ ।
‘देउवाजीले कार्यवाहक तोकीसक्नुभयो, आफू अधिवेशनपछि नेतृत्वमा नबस्ने स्पष्ट पारिसक्नुभएको छ । तर पनि पार्टीकै जिम्मेवार नेताबाट उठाइएका अनावश्यक प्रश्नहरूले पार्टीको छवि र एकतालाई असर पारेका छन्,‘उनले भने ।
बैठकले जेनजी आन्दोलनका क्रममा कांग्रेस नेतामाथि भएको हिंसात्मक आक्रमणको भर्त्सना गरेको डा। महतले जानकारी दिए । साथै उनले पार्टीका भातृ एवं शुभेच्छुक संघ–संस्थाहरूमा देखिएका गम्भीर समस्या समाधान गरी ती संगठनहरूलाई पुनर्जीवित गर्न आवश्यक रहेको बताएका छन् ।
उनले भने, ‘लोकतन्त्र, संविधान र पार्टीमाथि भएको आक्रमणको सामना गर्न कांग्रेसभित्रको आन्तरिक एकता अहिले सबैभन्दा ठुलो आवश्यकता हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया