कारागारबाट भागेका कैदीबन्दी खोज्दै मध्यरात प्रहरीको भेषमा ‘चोर’ आएपछि…

लोकपथ
2k
Shares

चितवन । कालिका नगरपालिका–६ सिमलघारी टोलमा सोमबार मध्यराति प्रहरीले लगाउने जस्तै पोसाक लगाएर चोर्न आएको पाइएको छ । घरधनीसँग जम्काभेट भएपछि निजहरूले आफूहरू प्रहरी भएको र फरार कैदीबन्दी खोज्न आएको भन्दै उम्किएका थिए । 

घटना विवरणअनुसार नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव राधेश्याम खतिवडाको घरमा चोरी गर्न आएको आफूलाई प्रहरी बताउने व्यक्तिहरू खतिवडासँग जम्का भेट भएपछि प्रहरी भन्दै उम्किएका थिए । 

खतिवडाले भने, ‘नजिकै रहेको काकाको घरमा क्रिकेट हेर्ने निधो भएपछि ढोका बन्द गर्न लगाएर बाहिरको बत्ती बालेर दाजुभाइ गयौँ । रातको १२ बजे खेल सकिएपछि काकाको घरबाट घर फर्किँदा सडक पोलको बत्ती निभेको पाइयो । घरअगाडि बालेको बत्ती पनि बन्द गरेको पाइयो । बत्ती बन्द गरिएकामा शंका लाग्यो ।’

‘मेरो घरबाट चार घर पर अँधेरोमा केही चीज रोकेर राखेकोसम्म आँखा पुग्यो । जब आफ्नो घरअगाडि सडकमा पुगेँ अँध्यारोमा एक अपरिचित युवा मेरो घरको बरन्डाबाट आँगनमा निस्किए,’ घटना विवरण सुनाउँदै उनले भने, ‘एक्कासि नयाँ मान्छे देख्दा म आत्तिए । चोर ! भन्ने सम्झे । तर बोल्न सकिनँ ।’

ती व्यक्तिले यहाँ कारागारबाट भागेको कैदी लुकेको छ रे कहाँ छ ? भन्दै प्रश्न सोधेपछि आफू आत्तिएर काकाको घरतर्फ गएको खतिवडाले सुनाए 

भाइ विवेक खतिवडा र आफू पुनः घरमा फर्किँदा ती व्यक्ति अगाडि मोटरसाइकलमा रहेका अर्का व्यक्तिसम्म पुगेको उनले बताए । 

निजहरूले दाजुभाइलाई आफूहरू प्रहरी भएको र लोकेसनले फरार कैदीबन्दी यहाँ देखाएकाले खोज्दै आएको बताएको उनले सुनाए । घर आउँदा मोटरसाइकल राखेको ठाउँबाट अलि पर सारेको, जुत्ता, हेलमेट सडक किनारमा लगेर राखेको, झ्यालको पल्ला खोलेको पाएपछि बल्ल उनीहरू चोर हुन भन्ने यकिन भएको खतिवडाले बताए । 

राति नै प्रहरीलाई खबर गरी घटनाका विवरण सुनाएको उनले जानकारी दिए । मोटरसाइकलमा रहेका व्यक्तिले हतियारजस्तो वस्तु समेत बोकेको देखेको खतिवडाले बताए । 

उनका अनुसार नजिकै रहेको काका कालिदास खतिवडाको घरबाट पल्सर मोटरसाइकल राति नै चोरी भएको छ । उनीहरू बत्ती निभाएर चोर्ने नियतले घरमा पसेको र जम्काभेट भएपछि आफूहरूलाई प्रहरी बताउँदै उम्किएको खतिवडाले बताए । 

इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायब उपरीक्षक सुवास भट्टले घटनाको जानकारी पाएसँगै राति प्रहरी परिचालन भएको र घटनाको अध्ययन थालिएको बताए । उनीहरू प्रहरी नभएको भन्दै चोरी गर्ने नियतले आएको हुन सक्ने उनले बताए । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्द पुरीले फरार कैदीबन्दी पनि हुन सक्ने आशंकाबीच सोही कोणबाट समेत अनुसन्धान थालिएको बताए । उनले भने, ‘यसै भन्न सकिन्नँ, तर सबै कोणबाट अध्ययन थालेका छौँ ।’

चितवनसहित देशका धेरै कारागारबाट ठूलो संख्यामा कैदीबन्दी फरार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?