सर्वोच्च अदालतमा संसद् विघटनविरुद्ध धमाधम रिट दायर, सवा ११ बजेसम्म पाँच वटा रिट दायर

लोकपथ
4.1k
Shares

काठमाडौं । सर्वोच्च अदालतमा संसद् विघटनविरुद्ध पाँच रिट दायर भएका छन् । मंगलबार बिहान सवा ११ बजेसम्म पाँच रिट दायर भएका हुन् ।

पहिलोदेखि पाँचौँ नम्बरसम्म क्रमशः अधिवक्ता प्रेमराज सिलवाल, अधिवक्ता कृतिनाथ शर्मा पौडेल, युवराज सफल पौडेल, बिपना शर्मा र आयुष बडालको रिट दर्ता भएको हो । 

२४ भदौमा प्रदर्शनकारीले आगजनी गर्दा खण्डहर बनेको सर्वोच्च अदालतले ३६ दिनपछि रिट निवेदन दर्ता थालेको हो । सर्वोच्चले आज मंगलबारदेखि रिट निवेदन दर्ता गरेको हो । आजै केही रिटमा सुनुवाइ पनि थाल्ने भएको छ ।

आइतबार बसेको फुल कोर्ट (पूर्ण बैठक) ले रिट निवेदन दर्ता सुरु गर्ने निर्णय गरेको थियो । 

जेनजी आन्दोलनपछि सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको निवेदन मात्र सुनुवाइ गर्दै आएको थियो । रिट निवेदन, मुद्दा दर्ता र सुनुवाइजस्ता नियमित सेवा सुरु हुन सकेको थिएन । सर्वोच्चमा मात्रै २५ हजार थान मुद्दा सुनुवाइको पर्खाइमा छन् । सर्वोच्चमा दैनिक तीन–चार सय मुद्दा सुनुवाइ हुँदै आएको थियो ।

आगजनीमा सर्वोच्चको १ अर्ब २६ करोडको क्षति भएको मूल्यांकन अदालत प्रशासनले गरेको छ । करिब ३५ करोड बराबरको भवन क्षति भएको, ७१ करोड बराबरका सामग्री जल्नुका साथै तोडफोड भएको र २० करोड बराबरको सवारीसाधनमा क्षति भएको अदालतले जनाएको छ ।

सर्वोच्चका ४३, मातहत अदालतका ३८, उच्च अदालतका २३ र जिल्ला अदालतका २५ गरी १२९ सवारीसाधनमा क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?