वीरगञ्जबाट भन्सार छली गरेको दुई किलो सुन र १० किलो चाँदी बरामद

लोकपथ
378
Shares

पर्सा । सशस्त्र प्रहरी बल नेपाल र पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयको संयुक्त टोलीले भन्सार छली गरी गोदाममा राखिएको सुन र चाँदी बरामद गरेको छ ।

विशेष सूचनाका आधारमा  वीरगञ्ज महानगरपालिका–८ माईस्थानस्थित अभिषेक सर्राफको घरमा छापा मार्दा करिब दुई किलो २५४ ग्राम सुन र १० किलो ३५४ ग्राम चाँदी फेला परेको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले जानकारी दिए ।

उनका अनुसार बरामद गरिएका सुन–चाँदी र नगद रकम राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ । ‘भन्सार छली गरी गोदाममा राखिएको भन्ने सूचनाका आधारमा गरिएको छापामा उक्त परिमाणको सुन–चाँदी बरामद भएको हो,‘भट्टले भने, ‘संयुक्त टोलीले बरामद सामग्री सुनचाँदी व्यवसायी संघमा लगी मापन गर्दा सुन २,२५४.८६ ग्राम र चाँदी १०,३५४.०७ ग्राम रहेको पुष्टि भएको छ ।’

त्यसैगरी टोलीले सुनजस्तो देखिने ५५९.१० ग्राम र चाँदीजस्तो देखिने ५५० ग्राम धातु पनि बरामद गरेको छ । साथै, सोही घरबाट एक लाख नौ हजार नेपाली रुपैयाँ र भारतीय रुपैयाँ ४१ हजार ६० पनि फेला परेको प्रहरीले जनाएको छ ।

राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख हरिप्रसाद शर्माका अनुसार बरामद गरिएको सुनचाँदीको परीक्षण र थप अनुसन्धान अघि बढाइनेछ । ‘परीक्षणका क्रममा प्राप्त प्रतिवेदन र कागजातका आधारमा राजस्व चुहावटसम्बन्धी मुद्दा दर्ता गरिनेछ, ‘शर्माले बताए ।

उनीका अनुसार राजस्व चुहावटसम्बन्धी सूचनाका आधारमा गरिएको उक्त कारबाहीपछि सम्बन्धित व्यक्तिहरूलाई सोधपुछ र कानुनी प्रक्रिया अघि बढाइने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?