सुरक्षित स्थान पहिचान गर्न नसक्दा बस्ती विपद्को जोखिममा : मन्त्री घिसिङ

लोकपथ
77
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले भौगोलिक जोखिम मूल्याङ्कन र सुरक्षित स्थान पहिचान नगर्दा प्रत्येक वर्ष विपद्बाट जनधनको ठूलो क्षति हुने बताएका छन् ।

विश्व बसोबास दिवसको अवसरमा सहरी विकास तथा भवन निर्माण विभाग र संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रमले आयोजना गरेको कार्यक्रममा मन्त्री घिसिङले मानिसको सामाजिक, वातावरणीय र आर्थिक पक्षसँग जोड्न नसक्दा एकीकृत बस्ती कार्यक्रम पनि पूर्ण रूपमा सफल हुन नसकेको बताएका हुन् ।

मन्त्री घिसिङले भने, ‘देशका केही ठाउँमा एकीकृत बस्ती निर्माण गर्‍यौँ, तर समुदायलाई सामाजिक, वातावरण र आर्थिक पक्षसँग जोड्न नसक्दा ती बस्ती खाली हुन थाले ।

ग्रामीण र सहरी क्षेत्रका अव्यवस्थित बस्तीलाई सुरक्षित एवं व्यवस्थित बनाउनु अहिलेको सबैभन्दा ठूलो चुनौती हो । मनसुनजन्य विपद्बाट बच्न पूर्वसूचना प्रवाह भए पनि भौगोलिक रूपमा जोखिमयुक्त स्थानको ‘म्यापिङ’ गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्न नसक्दा हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरेको छ।’

उनले सहर विकासको गुरुयोजना बनाएर एउटा सहरलाई नमुना बनाइ पूर्वाधार संरचना निर्माण गरी अन्य सहरमा अनुसरण गर्न सकिने बताए। ‘जग्गा खण्डीकरण गरेर सहर विकास गर्ने अभ्यासलाई अन्त्य गरी एकीकृत गुरुयोजना तयार गर्न आवश्यक छ। नदी किनार सुन्दर नभईकन सहरी सौन्दर्य कायम रहन सक्दैन, त्यसैले काठमाडौं उपत्यकाका नदी कोरिडोर किनारमा रहेका बस्तीको व्यवस्थापन आवश्यक छ।’

मन्त्री घिसिङले ग्रामीण क्षेत्रमा पूर्वाधार पुगे पनि बस्ती घट्दै गएकोमा चिन्ता व्यक्त गर्दै, मन्त्रालय र मातहतका निकायमा हुने भ्रष्टाचार, अनियमिता र ढिलासुस्तीमा शून्य सहिष्णुताको नीति अपनाइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?