समुदायको सहभागिताबिना विपद् जोखिम न्यूनीकरण सम्भव छैन : गृहमन्त्री अर्याल

लोकपथ
77
Shares

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले समुदायको सहभागिताबिना विपद् जोखिम न्यूनीकरण सम्भव नभएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा रहेको पनि बताएका छन् । २०७२ सालको भूकम्प र त्यसपछिको बाढीपहिरोले विपद् पूर्वतयारी र जोखिम न्यूनीकरणको महत्त्व बोध गराएको उनले बताए । 

भौगोलिक रुपमा नेपाल सुन्दर भए पनि जोखिमपूर्ण रहेको उनको भनाइ छ । नेपाल भूकम्प, बाढी, पहिरो, डुबान, आगलागी, सुख्खा लगायतका प्राकृतिक तथा मानवसिर्जित विपद्हरुको उच्च जोखिम रहेको उनले बताए । 

विपद्लाई प्राकृतिक मात्र नभई सामाजिक संरचनात्मक र नीतिगत कमजोरीसँग पनि जोडेर हेर्नुपर्ने आवश्यकता औँल्याए । संविधान, राष्ट्रिय नीति तथा कानुनहरुले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी कार्यहरु सबैको समन्वय, सहकार्य र सहभागितामा सम्पादन हुने व्यवस्था गरेको उनले जानकारी दिए ।

केन्द्रदेखि स्थानीय तहसम्म विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा विभिन्न संयन्त्रहरु क्रियाशील रहेको उनको भनाइ छ । उनले बाढी तथा डुबानजस्ता जोखिमहरुको पूर्व जानकारीका लागि अर्ली वार्निङ सिस्टमको विस्तार गरिएको पनि जानकारी दिए ।

उनले समुदायको अग्रसरताविना विपद् न्यूनीकरण सम्भव नभएको बताउँदै विद्यालयस्तरदेखि स्थानीय तहसम्म सचेतना तथा क्षमता अभिवृद्धिका कार्यक्रमहरु सञ्चालन गरिएको बताए । विपद् जोखिम न्यूनीकरण सरकारको मात्रै नभएर सम्पूर्ण राष्ट्रको साझा जिम्मेवारी भएको उनको भनाइ छ । नीति निर्माणदेखि कार्यन्वयनसम्म, जनसाधारणदेखि प्राविधिक विज्ञसम्म सबैको समन्वय, सहकार्यविना दिगो समाधान सम्भव नभएको उनले  बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?