एमालेको निर्णय : मंसिर अन्तिम साता महाधिवेशन, संसद पुनस्थापनाका लागि पहल गर्ने

लोकपथ
448
Shares

काठमाडौं । नेकपा एमालेले आगामी ११औँ महाधिवेशन मंसिरको अन्तिम साता गर्ने निर्णय गरेको छ ।

आज भक्तपुरको गुण्डुमा सम्पन्न पार्टी सचिवालय बैठकले महाधिवेशन गर्नेसहितका निर्णयहरु गरेको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार बैठकको मिति र स्थानबारे केन्द्रीय समिति बैठकले निर्णय गर्नेछ ।

त्यस्तै बैठकले प्रतिनिधि सभा विघटनको विषयलाई प्रतिवाद गर्ने निर्णय समेत गरेको छ । प्रतिनिधि सभा विघटन अलोकतान्त्रिक र असंवैधानिक रहेको भन्दै त्यसको पुनस्थापनका लागि पहल गर्ने निर्णय भएको महासचिव ज्ञवालीले बताए ।

त्यस्तै सचिवालय बैठकले चुनाव गर्ने म्याण्डेट पाएको सरकार चुनाव गराउने भन्दा पनि मुठभेडको बाटोमा गइरहेको निष्कर्ष निकालेको छ ।

‘सरकार चुनाव गराउने बाटोमा छैन, सरकार चुनावका लागि तयारी नै छैन । प्रहरी चौकी लुट्नेहरूलाई कारबाही भएन, जेल तोडेर कैदीहरू बाहिर बसेका छन् । चौकीहरू पुनस्थापना भएको छैन’ कसरी चुनाव हुनसक्छ ?’ उनले भने–‘केन्द्रीय बैठक २९, ३० र ३१ गते बस्नेछ त्यसमा हामीले लगेका एजेन्डामा छलफल हुनेछ चुनावको पूर्वतयारी नै भएको छैन, दलहरूलाई धम्काएर निर्वाचन कसरी हुन्छ ? निर्वाचनको आत्मा मरिरहेको छ कसरी हुन्छ चुनाव ? अहिलेका गतिविधि चुनाव लक्षित छैन ।’

नेता ज्ञवालीले संसद् पुनः स्थापनाबाट नै अहिलेको समस्याको निकास दिने जनाए । पार्टी अध्यक्ष केपी ओलीको राजीनामा मागबारे अनावश्यक विषय बाहिर आएको दाबी उनको थियो ।

एमाले नेतृत्वको बारेमा विभिन्न टिकाटिप्पणी भइरहेकोप्रति आपत्ति जनाउँदै उनले बैठकमा मन माझामाझ हुनेगरी छलफल भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?