विद्यालय भवन निर्माणकाे सूचना लुकाएर ठेक्का, तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा

लोकपथ
693
Shares

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको माधव नारायण नगरपालिकामा निर्माण भइरहेको देवी माध्यमिक विद्यालयको भवन ठेक्कामा अनियमितता भएको आरोपमा तीनजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले अनुसन्धानमा पाएको प्रमाण अनुसार, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थ, लेखापाल रामबलम प्रसाद यादव र रौतहट एडभटाइजिङ एजेन्सीका सञ्चालक अजितकुमार कर्णले आपसी मिलेमतो गरी ठेक्का प्रक्रिया गैर कानुनी रूपमा अघि बढाएको भेटिएको छ ।

आयोगका अनुसार, आर्थिक वर्ष २०७७/७८ मा भवन निर्माणका लागि बोलपत्र आह्वान र स्वीकृतिको सूचना राष्ट्रिय स्तरको दैनिक पत्रिकामा अनिवार्य रूपमा प्रकाशित गर्नु पर्ने नियम भए पनि, उनीहरूले केवल सानो पत्रिकामा मात्र देखाएर ठेक्का अगाडि बढाएका हुन् ।

पत्रकार परिषद् नेपालले पुष्टि गरेको अनुसार, ती सूचना वास्तवमा प्रकाशित नभएको थियो । साथै, तीनै जनाले झुट्टा बिलको आधारमा २ लाख ५७ हजार ९७० रुपैयाँ भुक्तानी लिएका प्रमाण पनि फेला परेको छ ।

अख्तियारले यस कार्यलाई भ्रष्टाचारको श्रेणीमा परेको ठहर गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सजायको माग गर्दै आरोपपत्र दायर गरेको छ । आयोगका अनुसार, यस्तो मिलेमतोपूर्ण कामले स्थानीय तहको पारदर्शिता र उत्तरदायित्व दुवैमा हानिकारक प्रभाव पार्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?