बिपी राजमार्ग : ‘ट्र्याक’ खुलाएसँगै मर्मत थालियो

लोकपथ
266
Shares

 काभ्रेपलाञ्चोक । गत साताको बाढीले क्षतिग्रस्त भएको बिपी राजमार्गको विभिन्न खण्डमा अस्थायी ‘ट्र्याक’ खोल्दै सवारी सञ्चालन सुरु गरिएको छ भने थप मर्मत कार्य पनि जारी छ ।

डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार, बाढीले अवरुद्ध गरेका स्थानमा डाइभर्सन बनाएर सडक सञ्चालनमा ल्याइएको भए पनि सडक साँघुरो र अप्ठ्यारो भएकाले मर्मत कार्य जारी रहेको छ ।

कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले भने, ‘हाल तीन वटा मेसिन मर्मतमा खटाइएका छन् भने अन्य ‘स्टेशन’मा मेसिन स्ट्याण्डबाईमा राखिएको छ। मर्मत कार्यले तिहारसम्ममा राजमार्गमा सहज यात्रा सुनिश्चित गर्नेछ।’

राजमार्गमा कुल १९ स्थानमा डाइभर्सन बनाएर शनिबारदेखि पूर्ण रूपमा यातायात सञ्चालनमा ल्याइएको छ । चौकीडाँडादेखि माम्तीसम्म करिब दुई दर्जन मेसिनले रातको समयमा निरन्तर काम गरी ट्र्याक परीक्षण सम्पन्न गरेको कार्यालयले जनाएको छ ।

योगेशले बताएअनुसार चौकीडाँडा, कटुन्जे–घुमाउने, चारसयबेँसी, गिम्दीबेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुङ्गा, डालाबेसी र पिप्ले लगायतका स्थानमा डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिएको छ । यसबाहेक काभ्रेपलाञ्चोक खण्डमा १६ र सिन्धुली खण्डमा तीन स्थानमा डाइभर्सन निर्माण सम्पन्न भई ट्र्याक सञ्चालनमा आएको हो ।

रोशी खोलाको बाढीले चार किलोमिटर सडक कटान गरेको थियो। यस क्षेत्रको क्षतिग्रस्त सडक गत वर्ष पनि डाइभर्सनमार्फत अस्थायी रूपमा सञ्चालन हुँदै आएको थियो ।

पूर्वी नेपाल जोड्ने छोटो दूरीको प्रमुख राजमार्ग भएकाले यहाँ दैनिक हजारौँ सवारी आवतजावत गर्छन् । कार्यालयले क्षतिग्रस्त राजमार्गको स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रिया अघि बढाइसकेको जनाएको छ ।

सवारी साधन चलाउँदा चालक तथा यात्रुलाई विशेष सावधानी अपनाउन कार्यालयले अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?