काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीमा युवाको सक्रिय सहभागिता सुनिश्चित गर्न छुट्टै कोटाको व्यवस्था गर्नुपर्ने बताएका छन् ।
शनिबार सानेपास्थित पार्टी मुख्यालयमा युवाहरूले पार्टीका सबै तहमा ४० प्रतिशत सहभागिता सुनिश्चित गर्न माग गरेपछि उनले सो धारणा राखेका हुन् ।
गुरुङले युवाहरूलाई कांग्रेसको मुख्यधारमा ल्याउन छुट्टै कोटा व्यवस्था अनिवार्य भएको बताए । उनले भने, ‘यो सकारात्मक कुरा हो । युवाहरूलाई समेट्नै पर्छ पार्टीमा । अहिले विधानमा युवाका लागि निश्चित कोटा छैन, त्यसलाई अब छुट्टयाउनुपर्छ । महिला, जनजाति, मधेसीका लागि जस्तै युवाका लागि पनि छुट्टै कोटा आवश्यक छ ।’
उनका अनुसार युवाहरूलाई बेवास्ता गर्नु पार्टीको भविष्यका लागि घातक हुन सक्छ, त्यसैले केन्द्रीयदेखि तल्लो तहसम्म युवाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने आवश्यकता बढेको छ ।
यसअघि पार्टीका युवाहरू सानेपास्थित मुख्यालयमा भेला भई पार्टीको हरेक तहमा ४० प्रतिशत युवाको सहभागिता सुनिश्चित गर्न माग गरेका थिए ।
उपसभापति गुरुङले सो मागलाई सकारात्मक रूपमा लिँदै आगामी महाधिवेशनमार्फत त्यसलाई सम्बोधन गरिने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया