कैलालीमा युवकको घाँटी रेटी हत्या, टाउको बोकेर प्रहरीमा पुगे दुई किशोर

लोकपथ
2.6k
Shares

धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–८ जरैमा शुक्रबार राति एक युवकको घाँटी रेटी हत्या गरिएको छ ।

इलाका प्रहरी कार्यालयका अनुसार हत्या गरिएका व्यक्ति २८ वर्षीय केशर बहादुर बुढा हुन् । उनी सुर्खेतको चौकुने गाउँपालिका–३ मोरीवनका स्थायी बासिन्दा भए पनि हाल परिवारसहित घोडाघोडी–८ मा बस्दै आएका थिए ।

प्रहरीका अनुसार बुढाको हत्या गरी मृतकको टाउको बोकेर दुई किशोर सुखडस्थित प्रहरी चौकीमा आत्मसमर्पण गर्न पुगेका थिए ।

हत्या आरोपमा घोडाघोडी–८ का १८ वर्षीय बलबहादुर बिक र १९ वर्षीय गङ्गा बुढा क्षेत्रीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

शुक्रबार राति खाजा खाने क्रममा सामान्य भनाभन भएपछि विवाद चर्किँदा दुवै जना किशोरले धारिलो हतियार प्रयोग गरी बुढाको घाँटी रेटेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ । 

हत्या गरेपछि उनीहरूले मृतकको टाउको झोलामा राखी करिब डेढ घण्टा पैदल हिँडेर प्रहरी चौकी पुगेर आत्मसमर्पण गरेका थिए ।

घटनास्थल सिलबन्दी गरी प्रहरीले थप प्रमाण संकलन जारी राखेको छ । मृतकका आफन्त सुर्खेतबाट आइपुगेपछि मात्रै मुचुल्का र पोस्टमार्टम प्रक्रिया अघि बढाइने प्रहरीले जनाइएको छ ।

पक्राउ परेका दुवै किशोरले अपराध स्वीकार गरेका छन् भने, हत्या हुनुको वास्तविक कारण पत्ता लगाउन विस्तृत अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?