काठमाडौं । बागलुङ बजारमा आज एक विशेष समारोहका बिच प्रा.डा. पुकार चन्द्र श्रेष्ठलाई सम्मान गरिएको छ ।
बागलुङ नगरपालिकाका मेयर बसन्त श्रेष्ठको प्रमुख आतिथ्यतामा र वरिष्ठ साहित्यकार काजी रोशनको अध्यक्षतामा सम्पन्न ‘डा. तरुण पौडेल चिकित्सा संस्थाको १३औँ वार्षिकोत्सव एवं १०औँ पुरस्कार समारोह’मा डा. श्रेष्ठलाई नगद, दोसल्ला र फूलमालासहित ‘डा. तरुण पौडेल चिकित्सा पुरस्कार–२०८२’ प्रदान गरिएको हो ।
डा. श्रेष्ठलाई नेपाल सरकारको स्वास्थ्य सेवामा ३३ वर्षे योगदान, मानव अंग प्रत्यारोपण क्षेत्रमा उल्लेखनीय उपलब्धि, र नेपालमा पहिलो पटक एकै व्यक्तिको तेस्रो पटक मृगौला प्रत्यारोपण गरी कीर्तिमान राखेको योगदानका लागि सम्मान गरिएको हो ।

उक्त कार्यक्रममा नवजात शिशुको ज्यान बचाउने स्वास्थ्यकर्मी जानकी पुजारी, लेखनाथ नगरपालिकास्थित अस्पताललाई १९ रोपनी जग्गा दान गर्ने रेवती रमण पौडेल, र बुटवलकी समाजसेवी अनुप सैंजु पनि सम्मानित भए ।
अध्यक्ष काजी रोशनले पुरस्कार स्थापना र यसको उद्देश्यबारे जानकारी दिँदै देशभर योगदान दिने व्यक्तिहरूलाई प्रोत्साहन गर्ने लक्ष्य रहेको बताए । मेयर बसन्त श्रेष्ठले सम्मानित सबैलाई बधाई दिँदै बागलुङबाट देशका लागि योगदान दिने व्यक्तिहरूलाई आगामी दिनमा पनि सम्मान गरिने उल्लेख गरे ।
डा. श्रेष्ठले बागलुङसँगको आत्मीयता व्यक्त गर्दै आफ्नो बाल्यकाल र अध्ययनकालका स्मृतिहरू बाँडे । उनले सन् २०३४ सालमा एसएलसी पास गरेको बताउँदै आजको उपलब्धिको श्रेय बागलुङकै शिक्षक र स्थानीयहरूलाई दिए । साथै, अंगदानको महत्वबारे प्रकाश पार्दै सबैलाई अंगदानका लागि प्रेरित गरे ।
यसै क्रममा डा. श्रेष्ठले अध्ययन गरेको बागलुङस्थित विद्यामन्दिर माध्यमिक विद्यालयमा पनि विशेष स्वागत कार्यक्रम आयोजना गरिएको थियो । विद्यालयका प्रधानाध्यापक छविरमण रेग्मी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्रीजय श्रेष्ठ, वडा अध्यक्ष शनि केसी लगायतको उपस्थितिमा आयोजित कार्यक्रममा विद्यालयको अवस्था र भावी योजनाबारे जानकारी गराइएको थियो ।
डा. श्रेष्ठले आफ्नो विद्यार्थी जीवनका सम्झनाहरू बाँड्दै विद्यालयका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले विद्यार्थीहरूलाई स्वास्थ्य सेवा र अंग प्रत्यारोपणको संवेदनशीलताबारे जानकारी दिँदै प्रेरणादायी सन्देश दिए ।

उनकी धर्मपत्नी नबिना श्रेष्ठले विद्यालयको वातावरण र व्यवस्थापनको प्रशंसा गर्दै गुणस्तरीय शिक्षाको आवश्यकता र महत्वमा जोड दिइन् । विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्रीजय श्रेष्ठले यस्ता प्रेरणादायी भेटघाटले विद्यालयको शैक्षिक तथा सामाजिक विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।
प्रधानाध्यापक रेग्मीले विद्यालयले पछिल्ला वर्षमा उल्लेखनीय प्रगति गरेको भए पनि सूचना प्रविधिसँग समन्वय गर्दै अघि बढ्नु अहिलेको आवश्यकता रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया