निर्वाचनको उम्मेदवार छनोट विधिको लागि रास्वपाले गर्‍यो सुझाव कार्यदल गठन

लोकपथ
133
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि एकीकृत निर्वाचन खाका अन्तर्गत उम्मेदवार छनोट विधिको लागि सुझाव संकलन कार्यदल गठन गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा सातै प्रदेशका सभापति तथा केन्द्रीय निर्वाचन आयोगका प्रतिनिधि सहभागी हुने गरी कार्यदल गठन गर्ने निर्णय गरेको पार्टी केन्द्रीय सदस्य सोविता गौतमले जानकारी दिइन् ।

त्यसैगरी, बैठकले वर्तमान राजनीतिक परिवेशमा राष्ट्रिय हित, एकता र सौहार्दता प्रवर्द्धनका लागि विभिन्न सामाजिक, राजनीतिक शक्ति र समूहसँग वार्ता गर्न गठित संवाद समितिको संयोजकको जिम्मेवारी पार्टी उपसभापति स्वर्णिम वाग्लेलाई दिएको छ ।

पार्टी केन्द्रीय समितिको विस्तारित बैठक आगामी कार्तिक १४ र १५ गते चितवनमा आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ । सो बैठकको व्यवस्थापनका लागि केन्द्रीय सदस्य हरि ढकालको नेतृत्वमा समिति गठन गरिनेछ ।

असोजको तेस्रो साता आएको विपद्को प्रतिकार्य, राहत र उद्धारमा भएका प्रशंसनीय प्रयासका लागि पार्टीले धन्यवाद ज्ञापन गर्दै थप सक्रियता देखाउने प्रतिबद्धता व्यक्त गरेको छ । यसैबिच, पार्टीले सल्लाहकार परिषद् गठन प्रक्रिया सुरु गर्दै विभिन्न विज्ञहरूलाई मनोनीत गरेको जानकारी पनि दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?