‘नेपाललाई विपद् प्रतिकार्यमा थप सहयोग गर्न तयार छौँ’

लोकपथ
154
Shares

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्ट र संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक हाना सिंगर हाम्डीबिच शुक्रबार सिंहदरबारस्थित प्राधिकरणको कार्यालयमा शिष्टाचार भेटवार्ता भएको छ ।

भेटवार्तामा पछिल्लो मनसुनी विपद्‌पश्चातको राहत तथा सुरुवाती पुनर्स्थापनाबारे छलफल भएको थियो । कार्यकारी प्रमुख भट्टले इलामसहित विभिन्न स्थानमा मनसुनी वर्षाका कारण भएको जनधनको क्षतिको विवरण प्रस्तुत गर्दै राहत र पुनर्स्थापनाका लागि प्राधिकरणले गरिरहेको प्रयासबारे जानकारी गराए ।

उनले भारीदेखि अति भारी वर्षाको प्रक्षेपणपछि जनधनको क्षति न्यूनीकरण गर्न प्राधिकरणले अपनाएका पूर्वसूचना, पूर्वकार्य र प्रतिकार्य पहलबारे पनि जानकारी दिएका थिए ।

संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक हाम्डीले इलामलाई केन्द्रविन्दु बनाएर खाद्य एवं गैरखाद्य राहत, खानेपानी तथा सरसफाइमा तत्काल सहयोग उपलब्ध गराउन संयुक्त राष्ट्रसंघीय निकायहरु तयार रहेको बताइन् ।

उनले नेपाल सरकार र प्राधिकरणले विपद् व्यवस्थापन र प्रतिकार्यका क्षेत्रमा गरेका प्रयासहरुको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकार्यलाई अझ सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?