ललितपुर । यही भदौ २३ गते ‘जेनजी’ प्रदर्शनका क्रममा सहादत प्राप्त शहीद विनोद महर्जनको परिवारलाई ललितपुर महानगरपालिकाले पाँच लाख रुपैयाँ सहयोग गरेको छ ।
शुक्रबार आयोजित कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले शहीद महर्जनकी आमा लता महर्जनलाई पाँच लाख रुपैयाँ खातामा जम्मा गरिएको भौचर र समवेदना पत्र हस्तान्तरण गरेका हुन् ।
महानगर कार्यपालिका बैठकले यही असोज १० गते गरेको निर्णयअनुसार सहयोग रकम हस्तान्तरण गरिएको प्रमुख महर्जनले बताए ।
उनका अनुसार सुशासन र भ्रष्टाचारविरुद्धको आन्दोलनमा योगदान दिएकाले राष्ट्रले नै शहीद घोषणा गरिसकेको व्यक्तिप्रति संवेदना र सम्मानस्वरूप उक्त सहयोग प्रदान गरिएको हो ।
उनले शव अन्त्येष्टिमा समेत महानगरले सहयोग गरेको जानकारी दिए।
महानगरका प्रवक्ता तथा वडा नं ९ का अध्यक्ष राजु महर्जनले शहीद महर्जनको योगदानको कदर र परिवारप्रति सहानुभूति प्रकट गर्न सहयोग गरिएको बताए ।
शहीद विनोद महर्जनकी दिदी विना महर्जनले आफ्नो भाइले देश परिवर्तनका लागि जीवन अर्पण गरेकाले ललितपुर महानगरभित्र उनको सालिक निर्माण गरिदिन माग गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया