क्षतिग्रस्त बीपी राजमार्ग : अस्थायी ट्रयाक खोलेर भोलिदेखि संचालन गर्ने तयारी

लोकपथ
231
Shares

काभ्रेपलाञ्चोक । गत साताको बाढीले क्षतिग्रस्त बीपी राजमार्गको विभिन्न खण्डमा अस्थायी सडक (डाइभर्सन) निर्माण गरेर शनिबारदेखि सवारी सञ्चालनको तयारी गरिएको छ ।

डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार आज बिहानसम्म नमोबुद्ध नगरपालिका–६ चौकीडाँडादेखि रोशी गाउँपालिकाको चिउरी बाससम्म ट्र्याक खोलिसकिएको छ । उनका अनुसार, आज दिउँसोसम्म राजमार्गको सम्पूर्ण क्षतिग्रस्त खण्डमा ट्र्याक खोल्ने योजना छ ।

‘ट्र्याक खोलिसकेपछि सडकको अवस्था परीक्षण गर्नेछौँ र शनिबारदेखि पूर्णरुपमा राजमार्ग सञ्चालनमा ल्याइनेछ,‘उनले भने।

रोशी खोलाको बाढीले करिब चार किलोमिटर सडक कटान गरेको थियो । मंगलबारदेखि औपचारिक रूपमा डाइभर्सन निर्माण सुरु भएको हो भने बिहीबारदेखि रातको समयमा करिब दुई दर्जन मेसिन प्रयोग गरेर अस्थायी सडक निर्माण भइरहेको थियो ।

योगेशले भने, ‘सबै ट्र्याक खोलिसकेपछि बनेको सडकका घुम्ती र साँघुरा स्थानमा थप मर्मत आवश्यक देखिन्छ। आज साँझसम्म सडक खोल्ने काम पूरा हुने छ।’

बाढीपहिरोले राजमार्गका १७ स्थानमा क्षति पुर्‍याएको थियो। गत वर्षको बाढीपछिका केही खण्डमा पनि अस्थायी ट्र्याक बनाएर सञ्चालन भइरहेको थियो ।

यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले क्षतिग्रस्त खण्डको अवलोकन गर्दै डाइभर्सन निर्माण कार्यलाई तीव्र बनाउन निर्देशन दिएका थिए । मन्त्रालयले रातको समयमा काम गरेर पनि आज बेलुकासम्म यातायात सञ्चालन हुने गरी कामलाई तीव्र बनाएको थियो ।

अस्थायी ट्र्याक खुलाएसँगै पूर्वी नेपाल जोड्ने उक्त राजमार्गमा दैनिक हजारौँ सवारी साधनको आवतजावत सुचारु हुने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?