काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले युवा पुस्ताले अघि सारेको जेनजी आन्दोलनलाई सबैले स्वीकार गर्नुपर्ने बताएकी छन् ।
जेनजी आन्दोलनको एक महिना पुगेको अवसरमा बिहीबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले युवाले गरेको राजनीतिक क्रान्तिको भावनालाई आत्मसाथ गर्न सबैलाई आग्रह गरिन् ।
प्रधानमन्त्री कार्कीले भनिन्, ‘युवाहरुले गरेको यस राजनीतिक क्रान्तिको भावनालाई आज हामी सबैले आत्मसाथ गर्न जरुरी छ । यो क्रान्ति पछाडिको कारणलाई समेत हामीले गम्भीरताका साथ लिनुपर्छ । हाम्रा युवाहरुको बलिदानपछि राजनीतिक र आर्थिक सुधार, विधि र न्यायको शासनको अपेक्षा, र देशमा भ्रष्टाचार तथा बेथितिको अन्त्य हेर्ने चाहना छ ।’
उनले विगतका सरकारहरूले युवाको आवाज नसुने र माग सम्बोधन गर्न नसकेको स्वीकार गर्दै अहिलेको नेतृत्व त्यस गल्ती दोहोर्याउने मनसायमा नरहेको बताइन् । ‘एकातिर हाम्रा युवामा निराशा व्याप्त छ भने अर्कोतिर देशप्रति उत्कट प्रेम पनि छ । उनीहरूको भावनालाई म सम्मान गर्न चाहन्छु,‘ प्रधानमन्त्री कार्कीको भनाइ छ ।
प्रधानमन्त्रीले राजनीतिक दलहरूले पनि आत्ममूल्यांकन गर्दै सुधार गर्नुपर्ने बताइन् । आन्दोलनका क्रममा घाइते र प्रभावित युवाको उपचार तथा राहतका लागि विशेष कार्यक्रम अघि सारिएको बताउँदै उनले थप संयन्त्र निर्माणको तयारी भइरहेको जानकारी दिइन् ।
उनले भ्रष्टाचार, बेरोजगारी र विभेद जस्ता समस्या अन्त्यका लागि राजनीतिक तथा प्रशासनिक सुधारमा सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन् । साथै, भविष्यको नेपाल निर्माणमा जेनजी पुस्तालाई अर्थपूर्ण रूपमा सहभागी गराउन नयाँ संयन्त्र स्थापना गरिने पनि बताइन् ।
प्रधानमन्त्री कार्कीले अन्त्यमा भनिन्, ‘हामी युवा पुस्ताले चाहेको परिवर्तनप्रति प्रतिबद्ध छौँ । नयाँ मार्गमा अघि बढिरहेका छौँ । यो मार्ग आगामी निर्वाचनपछि पनि निरन्तर कायम रहनुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया