काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी प्रहरी कार्यालयमा नै फर्काइएको छ ।
जेनजी आन्दोलनका क्रममा घटेको घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले जिल्ला प्रहरी परिसरमा नै उक्त जाहेरी पठाएको हो ।
जिल्ला प्रहरी परिसरमा ओली र लेखकलाई पक्राउ गर्न भन्दै परेको जाहेरी प्रहरीले आयोगको क्षेत्राधिकार भित्र पर्ने भन्दै पठाएको थियो । तर आज बसेको बैठकले उक्त जाहेरी प्रहरी कार्यालयमा नै फिर्ता पठाएको आयोगका सदस्य विज्ञानराज शर्माले जानकारी दिए ।
‘फौजदारी वारदातमा विस्तृत अनुसन्धान तहकिकात गरी कसुरदार देखिने अवस्थामा अभियोजन समेत लगाउने कार्य यस आयोगको कार्यक्षेत्रभित्र परेको छैन’, आयोगको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘फौजदारी कसुरमा जो कोहीलाई नेपाल सरकारका संयन्त्रहरबाट तत्काल अनुसन्धान र कारबाही गर्न गराउन नेपालको कानूनले अख्तियारी प्रदान गरेको विदितै छ ।यस्तो कारबाहीका लागि आयोगको प्रतिवेदन कुर्न नपर्ने भएकाले प्राप्त जाहेरी निवेदन र कागजात जिल्ला प्रहरी परिसर काठमाडौंमा फिर्ता पठाइदिने ।’
त्यसो त जेनजी आन्दोलनका क्रममा तत्कालीन सरकार प्रमुख ओली र गृहमन्त्री लेखकलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै उजुरी परेको थियो । जेनजी आन्दोलनका क्रममा मृत्यु भएका रसिक खतिवडाका बुबा पुरुषोत्तम खतिवडासहित ४ जनाले जाहेरी दिएका थिए । तर प्रहरीले भने जाँचबुझ आयोग गठन भइसकेको अवस्थामा आफूहरुको क्षेत्राधिकारमा नपर्ने भन्दै फिर्ता गरिदिएको थियो । जसकारण प्रहरीमाथि समेत आलोचना भएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया