काठमाडौं । नेपाली कांग्रेसमा नियमित महाधिवेशनको कुरा उठेको छ ।
आज बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा महामन्त्री गगनकुमार थापाले नियमित महाधिवेशनको प्रस्ताव अघि सारेका हुन् ।
पार्टी कार्यालय सानेपामा पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बसेको थियो । बैठकमा यसअघि विशेष महाधिवेशनको विषय उठाउँदै आइरहेका महामन्त्री थापाले नियमित महाधिवेशनको कुरा अघि सारेको पूर्वमहामन्त्री डा. शशांक कोइरालाले बताए ।
‘बैठकमा महामन्त्री गगन थापाले महाधिवेशन गरी प्रस्ताव ल्याउनुभएको छ,’ कोइरालाले भने ।
त्यसो त जेनजी आन्दोलनपछि महामन्त्री थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले नियमित महाधिवेशन सम्भव नभएमा विशेष महाधिवेशन गर्नुपर्ने अडान राख्दै आइरहेका थिए । साथै महामन्त्रीद्वयले विशेष महाधिवेशनका लागि देशभर हस्ताक्षर अभियान नै चलाएका छन् ।
आजको बैठकमा पार्टी सभापति शेरबहादुर देउवा भने सहभागि छैनन् । देउवा सुरक्षा चुनौतीका कारण बैठकमा नगए पनि उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा बैठक बसेको थियो ।
जेनजी आन्दोलनपछि कांग्रेसभित्र नेतृत्व परिवर्तनको आवाज उठिरहेको छ ।
कांग्रेसको १४औँ महाधिवेशन २०७८ साल मंसिरमा सम्पन्न भएको थियो । हरेक ४–४ वर्षमा महाधिवेशन गर्नुपर्ने भए पनि पार्टी विधानमा सभापतिले ६ महिना म्याद थप गर्नसक्ने प्रावधान रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया