जेनजी आन्दोलन : २३ अर्ब भन्दा बढीको बीमा दाबी   

लोकपथ
84
Shares

काठमाडौं ।  गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि भएको क्षतिको बीमा दाबी रकम २३ अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार, बुधबारसम्म विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र चारवटा लघु निर्जीवन बीमा कम्पनीमा कुल ३ हजार ९९ वटा बीमा दाबी परेका छन् ।

निर्जीवन बीमा कम्पनीहरूले क्षतिको प्रारम्भिक भुक्तानी समेत गर्दै करिब १ अर्ब २९ करोड १९ लाख रुपैयाँ अग्रिम भुक्तानी गरिसकेका छन् । 

क्षतिको सर्भेका लागि बुधवारसम्म २ हजार ७ सय ६ जना सर्भेयर खटाइएको र हालसम्म ३७४ वटा सर्भे प्रतिवेदन पेस भइसकेको छ । 

सरकारको प्रारम्भिक अध्ययन अनुसार, आन्दोलनका क्रममा देशभर करिब १ खर्ब ८० अर्ब रुपैयाँ बराबरको क्षति भएको छ । आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट र आगजनीका कारण सबैभन्दा बढी सार्वजनिक सम्पत्तिमा क्षति पुगेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री कुलमान घिसिङले सार्वजनिक सम्पत्तिमा करिब १ खर्ब रुपैयाँ बराबरको क्षति भएको जानकारी दिएका थिए ।

निजी कम्पनीहरूले आफ्ना सम्पत्तिहरूको बीमा गराए पनि सरकारी सम्पत्तिमा बीमा कम भएकोले ठुलो क्षति भएको प्रष्ट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?