‘निर्माण क्षेत्रलाई समाप्त गर्ने दिशातिर सरकार अघि नबढोस्’

लोकपथ
168
Shares

काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले निर्माण क्षेत्रलाई समाप्त गर्ने दिशातर्फ नजाने चेतावनी दिएका छन् ।

बिहीबार महासंघ परिसरमा पूर्वअध्यक्ष स्व. शरदकुमार गौचनको आठौँ स्मृति दिवसको अवसरमा आयोजित स्मृति सभामा उनले यस्तो बताएका हुन् ।

अध्यक्ष सिंहले भने, ‘रुग्ण आयोजना अन्त्य गर्दा सार्वजनिक खरिद ऐनको व्यवस्था अनुसार मात्र गर्नुपर्छ । सरकारले निर्माण क्षेत्रलाई नै समाप्त गर्ने निर्णय गर्नु हुँदैन ।’ उनले जेनजी पुस्ताबाट भएको आन्दोलनबाट सडकबाट प्राप्त सरकारलाई उद्धृत गर्दै मुलुकको आर्थिक गतिविधि अहिले शिथिल भएको बताए ।

सिंहले वर्तमान आर्थिक अवस्था नाजुक भएकाले निर्माण क्षेत्र सबैभन्दा प्रभावित भएको र आवश्यकता भन्दा बढी लाइसेन्स वितरण हुँदै आएको बताए । ‘स्थानीय तहले धेरै लाइसेन्स वितरण गरिरहेका छन्, तर सरकारले कामको अवसर सिर्जना गरेको छैन,‘उनले भने ।

अध्यक्ष सिंहले थपे, ‘निर्माण क्षेत्रमा आपराधिक गतिविधि रोक्न महासंघले पहल गरिसकेको छ । कुनै पनि योजना अन्त्य गर्दा त्यसको प्रक्रिया सार्वजनिक खरिद ऐन अनुसार हुनुपर्छ। साना प्याकेज बनाएर अधिक व्यवसायीलाई सहभागी गराउने र स्वस्थ प्रतिस्पर्धा बनाउने हो भने मात्र निर्माणको गति बढ्न सक्छ ।’

उनले सडकबाट बनेको सरकारसँग अपेक्षा मात्र निर्वाचन नभई मुलुकको भ्रष्टाचार र बेथिति अन्त्य गरी आम जनतालाई सन्देश दिनुपर्ने बताए । ‘जनतालाई सुखद अनुभूति नदिए वर्तमान सरकार पनि विगतको जस्तै हुनेछ,‘ अध्यक्ष सिंहले चेतावनीसमेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?