आफैँले बोलाएको पदाधिकारी बैठकमा देउवा नजाने, बैठकको अध्यक्षता पूर्णबहादुरले गर्ने

लोकपथ
1.1k
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफैँले बोलाएको पार्टी पदाधिकारी बैठकमा सहभागी नहुने भएका छन् । उनी सहभागी नहुने भएपछि पदाधिकारी बैठकको अध्यक्षता पार्टी उपसभापति पूर्णबहादुर खड्काले गर्ने भएका छन् । 

जेनजी आन्दोलनका क्रममा आक्रमणमा परी घाइते भएका सभापति देउवाले पहिलोपटक आज बिहीबार दिउँसो १ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाए पनि अन्तिम समयमा आएर उनी सहभागी नहुने भएका हुन् । 

त्यसो त सभापति देउवा घाइतेपश्चात् अहिलेसम्म पनि सार्वजनिक भएका छैनन् । लामो समय सैनिक अस्पतालमा बसेर उपचार गराएका देउवा अहिले ललितपुरमा अस्थायी रूपमा बसोबास गरिरहेका छन् । 

‘सभापति बिरामी नै हुनुहुन्छ । उहाँ आउन नसक्ने हुँदा आज पदाधिकारी बैठक उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बस्ने कुरा छ’, कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने । 

जेनजी आन्दोलनका क्रममा ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय पनि आगजनीले ध्वस्त भएकाले पदाधिकारी बैठकको स्थान पनि निश्चित भइनसकेको मुख्यसचिव पौडेलले बताए । 

सभापति देउवाका स्वकीय सचिव भानु देउवाले पनि अनौपचारिक बैठक भएकाले सभापति देउवा नजाने बताए । उनले भने, ‘केन्द्रीय समितिको एजेन्डा बारेको छलफल गर्न अनौपचारिक बैठक हो । उपसभापतिले हेर्नुहुन्छ । स्वास्थ्यको कारण हैन ।

बैठकमा २६ असोजमा बस्ने केन्द्रीय समितिका एजेन्डा, महाधिवेशन, निर्वाचन लगायतबारे छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?