देशभर बाढी–पहिरोले ९ सडकखण्ड पूर्णरूपमा अवरुद्ध, ३ सडक एकतर्फी सञ्चालनमा [सूचीसहित]

लोकपथ
77
Shares

काठमाडौं । अविरल वर्षाका कारण देशभरका विभिन्न राजमार्ग र सडकखण्डहरू बाढी र पहिरोले अवरुद्ध भएका छन् । आज बिहान ८ बजेसम्मको जानकारी अनुसार ९ वटा सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएका छन् भने तीनवटा सडकखण्ड एकतर्फी रूपमा मात्रै सञ्चालनमा आएका छन् ।

प्रहरीका अनुसार कोशी राजमार्ग अन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुण र मकालु गाउँपालिका–एकुवामा सडक अवरुद्ध भएको छ ।

त्यस्तै, इलामको मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका–९ राजदुवालीलगायतका स्थानहरूमा आवागमन पूर्ण रूपमा रोकिएको छ । पाँचथरको तमोर करिडोर अन्तर्गत तुम्वेवा गाउँपालिकाको नावाखोला सडक पनि बन्द रहेको छ ।

बागमती प्रदेश अन्तर्गत रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ स्थित पासाङ ल्हामु सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । त्यसैगरी, बीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी खोला गाउँपालिका–११ का माम्तीखोला, डालाबेसी, बुल्ढुंगा, बाँझोखेतलगायत स्थानहरूमा सडक पूर्ण रूपमा बन्द भएको छ । बीपी राजमार्गकै सिन्धुलीको सुनकोशी गाउँपालिका–१ नेपालथोक सडक पनि अवरुद्ध छ ।

कर्णाली प्रदेश अन्तर्गत हुम्लाको कर्णाली करिडोर मा पर्ने खर्पुनाथ गाउँपालिका–५ कुरिल्ला सडक र कालिकोटको पचाल झरना गाउँपालिका–८ जुगेनी खोलाको सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

यसैबीच, कोशी लोकमार्ग अन्तर्गत साँगुरीगढी गाउँपालिका–१ चनौटे, ६ घण्टे र सिमसुवागरी तीन स्थानमा सडक एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।

त्यस्तै, बागमती प्रदेश अन्तर्गत मकवानपुरको कान्तिलोकपथ सडकखण्डका भिमफेदी गाउँपालिका–८ वगुवा खोला र बकैया गाउँपालिका–११ घटेपाखा क्षेत्रमा सडक एकतर्फी रूपमा सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?